कप्तान हरिले एसियाली खेलकुद नखेल्ने
Friday, July 21st, 2023, 5:54 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
काठमाडौं, ५ साउन
अनुशासनको कारबाहीमा परेका नेपाली राष्ट्रिय भलिबल टोलीका निवर्तमान कप्तान हरिहजुर थापाले एसियाली खेलकुद प्रतियोगितामा नखेल्ने घोषणा गरेका छन् । थापाले स्वास्थ्य समस्याको कारण देखाउँदै नेपाली टोलीबाट नखेल्ने निर्णय गरेका हुन् ।
बिहीबार नेपाल भलिबल संघ (एनभिए) ले चीनमा हुन लागेको १९औँ एसियाली खेलकुद प्रतियोगिताको लागि १२ खेलाडी सहितको टीम सार्वजनिक गरेको थियो । एसियाली खेलकुद प्रतियोगिता असोज देखि सुरु हुन लागेको छ । तर हरिले स्वास्थ्यको कारण देखाउँदै टोलीबाट अलग्गीने निर्णय गरेका हुन् । उनले आफनो फेसबुकमा लेखेका छन्,‘चीनमा हुन लागेको एसियन गेमको लागि अन्तिम छनोटमा पर्नु भएको सम्पुर्ण पुरुष खेलाडीलाई हार्दिक बधाई साथै शुभकामना छ । जसमा म स्वयम छनोटमा भएतापनि मेरो स्वास्थ्य स्थितीले गर्दा अभ्यासमा सरिक हुन नसकेको जानकारी गराउँछु । जय भलिबल ।’
नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठले हरिले राष्ट्रिय टोलीबाट नखेल्ने निर्णय संघमा जानकारी नआएको बताए । श्रेष्ठले हरि प्रशिक्षणमा उपलब्ध नभए बैकल्पिक खेलाडीले उक्त स्थानमा अवसर पाउने बताए । ३० असारमा एनभिएले नेतृत्व अभावको कारण देखिउँदै नेपालका दशौं कप्तान हरिहजुरलाई कप्तानबाट बर्खास्त गरेको थियो । उनलाई बर्खास्त गरेपछि आर्मीकै मानबहादुर श्रेष्ठलाई कप्तानी दिइएको छ । मान नेपालका ११औं भलिबल कप्तान बनेका छन् ।
सातौँ प्रधानमन्त्री कप राष्ट्रिय भलिबल लिगमा त्रिभुवन आर्मीबाट खेलेका हरिसँगै तीन खेलाडी एनभिएको अनुशासनको कारबाहीमा परेका थिए ।
गण्डकीविरुद्धको खेलमा दर्शक कुटेको र अभद्र व्यवहार गरेको एनभिएले ठहर गरेको छ । राष्ट्रिय टोलीका कप्तान हरिले खेलाडी सम्हाल्न नसकेको आरोप लागेको छ ।यसैगरी राष्ट्रिय टोलीमा धनबहादुर भट्ट ६ महिना र राजेन्द्र विष्ट तीन महिनाको निलम्बनमा छन् । आर्मीका धनपति कुँवरलाई तीन महिना निलम्बन गरिएको छ । निलम्बन अवधिभर तीनै खेलाडीले भलिबलका कुनै पनि गतिविधिमा संलग्न हुन पाउने छैनन् ।