३० वर्षपछि लिभरपुललाई प्रिमियर लिगको उपाधि
Tuesday, August 11th, 2020, 11:49 am
amit
काठमाडौं, असार १२ । लिभरपुलले ३० वर्षपछि इंग्लिस प्रिमियर लिगको उपाधि हात पारेको छ । लिगअन्तर्गत बिहीबार राति भएको खेलमा साविकको विजेता म्यानचेस्टर सिटीले हारेसँगै लिभरपुलले उपाधि जितेको हो ।
सिटी चेल्सीसँग २–१ गोलले स्तब्ध भएको थियो ।
आफ्नै मैदानमा भएको खेलमा चेल्सीलाई जिताउन क्रिस्टियन पुलिसिक र विलियनले समान एक–एक गोल गरे । यता, सिटीका लागि केभिन डी ब्रुनेले एक गोल फर्काए ।
चेल्सीले पुलिसिकको गोलमा सुरुआती अग्रता बनाएको थियो । खेलको ३६औं मिनेटमा चेल्सीका पुलिसिकले गोल गर्दै घरेलु टोलीलाई पहिलो हाफभरि अग्रता दिलाए ।
खेलको ५५औं मिनेटमा डी ब्रुनेले गोल गर्दै सिटीलाई बराबरीमा फर्काए । खेलको ७७औं मिनेटमा पाहुना टोली १० खेलाडीमा सीमित बनेको थियो । सिटीका फर्नान्डिन्होले रातो कार्ड पाएका थिए ।
त्यसको एक मिनेट नबित्दै पेनाल्टीको मौका पाएको चेल्सीका लागि विलियनले गोल गर्दै घरेलु टोलीलाई २–१ गोलले जिताए ।
सिटीले हारेपछि लिभरपुलले ३० वर्षपछि पहिलोपटक प्रिमियर लिगको उपाधि जितेको हो । उसले यसअघि सन् १९८९–९० को सिजन प्रिमियर लिगको उपाधि जितेको थियो ।
जारी सिजन लिभरपुललाई उपाधिका लागि मात्र २ अंकको खाँचो थियो । तर, सिटीको हारसँगै लिभरपुल ३१ खेलमै च्याम्पियन बनेको हो ।
यदि, सिटीले चेल्सीमाथि जित निकालेको भए लिभरपुलको उपाधि पछि धकेलिने थियो ।
लिभरपुलभन्दा सिटी २३ अंकले पछि परेको छ । शीर्ष स्थानको लिभरपुलसँग ८६ अंक छ भने दोस्रो स्थानको सिटीसँग ६३ अंक रहेको छ ।
यता, जितपछि चेल्सीले ५४ अंक बनाएको छ । चेल्सी चौथो स्थानमा रहेको छ ।