अझै पाएनन् खेलाडीले पुरस्कार रकम
Thursday, July 27th, 2023, 9:09 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
काठमाडौं, ११ साउन
नेपालले यूएईलाई ७ रनले हराउँदै २०२४ मा श्रीलंकामा हुने यू-१९ विश्वकपमा स्थान बनाएलगत्तै नेपाल क्रिकेट संघ (क्यान) ले यू-१९ टिमका प्रत्येक खेलाडीलाई एक लाख रुपैयाँ दिने घोषणा गर्यो । तर सरकार र क्रिकेट संघले अहिलेसम्म पुरस्कार रकम उपलब्ध गराउन सकेको छैन ।
पुरस्कार तथा सम्मान कार्यविधि अनुसार टिमका हरेक सदस्य जनही ३ लाख रुपैयाँको हकदार भएका थिए । क्रिकेट संघ, प्रदेश सरकार र स्थानीय पालिकाहरूले पनि आफ्नो क्षेत्रका क्रिकेटरहरूका लागि नगद पुरस्कार घोषणा गरेका थिए ।
क्रिकेट संघले खेलाडीलाई आफ्नो बैंक खाता उपलब्ध गराउन आग्रह गर्यो । १७/१८ वर्षका खेलाडीमध्ये कतिको आफ्नो बैंक खाता थिएन । उनीहरूले हतार-हतार खाता खोले । आफ्नो स्थायी लेखा नम्बर (प्यान) पनि बनाए ।
कतिपयले वैदेशिक प्रशिक्षणका लागि भारत जाने योजना बनाए । किनकि यो भविष्यका लागि आफैंमाथि लगानी गर्ने समय पनि थियो । ‘प्यान पनि बनाइयो, खाता नम्बर पनि पठाइयो तर पैसा आएन’ यू-१९ का एक क्रिकेटर भन्छन्, ‘पैसा आए भारत जाने भनेको हो, अहिलेसम्म पैसा नै आएको छैन ।’
मलेसियामा सम्पन्न एसीसी इष्ट जोन कप जितेको यू-१६ टिमले सरकारी निर्देशिका अनुसार ३ लाख र क्रिकेट संघले घोषणा गरेको ५० हजार गरी ३ लाख ५० हजार पाउन पनि बाँकी छ । उमेर समूह मात्र होइन, सिनियर टिमको अवस्था पनि उही छ । आईसीसी क्रिकेट लिग टूको शीर्ष ३ मा पर्दै विश्वकप छनोटमा स्थान बनाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बधाई मात्र दिएनन्, जनही ३ लाख रुपैयाँ पुरस्कार घोषणा गरे । पुरस्कार तथा सम्मान कार्यविधि अनुसार टिमका सदस्यहरूले जनही ६ लाख रुपैयाँ पनि पाउनुपर्ने हो ।
वैशाखमा नेपालले एसीसी प्रिमियर कपको उपाधि जित्दै एशिया कपमा स्थान बनायो, २० वैशाखको मन्त्रिपरिषद् बैठकले विजेता खेलाडीहरूलाई जनही ६ लाख रुपैयाँ दिने निणर्य गर्यो । यो रकम पनि खेलाडीहरूले पाएका छैनन् । सिनियर टिमका एक सदस्य भन्छन्, ‘घोषणा भयो भन्ने सुनिन्छ, हातमा परेको छैन । हामीलाई पुरस्कार भन्दै कति घोषणा गरियो भन्ने याद हुन छाडिसक्यो ।’