हैवीवेट राष्ट्र पाकिस्तानसँग खेल्दै नेपाल
Wednesday, August 30th, 2023, 6:00 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १२ भदौ
एसिया कपमा आज बुधबार डेब्यू गर्दै नेपालले विश्वको नम्बर एक टिम पाकिस्तानसँग उद्घाटन खेल खेल्दैछ । पाकिस्तानको मुल्तानमा हुने खेलमार्फत् नेपालको लामो समयदेखि पाकिस्तानसँग खेल्ने लक्ष्य पूरा गर्दैछ । खेल नेपाली समयअनुसार दिउँसो सवा तीन बजे हुँदैछ ।
पाकिस्तान हाल आइसिसी वरीयताको नम्बर एक टिम हो । भर्खरै अफगानिस्तानविरूद्धको तीन खेलको एकदिवसीय सिरिज ३–० ले क्लिनस्विप गरेपछि पाकिस्तान विश्वको नम्बर एक टिम बनेको थियो । पाकिस्तानी टिममा विश्व ब्याट्सम्यान वरीयताको शीर्ष स्थानमा रहेका बाबर अजाम छन् । पाकिस्तानका कप्तानसमेत रहेका बाबरविरुद्ध नेपाली बलरले बलिङ गर्नू चुनौतीपूर्ण हुनेछ । यस्तै वरीयताको तेस्रो नम्बरमा रहेका इमाम उल हक र पाँचौ नम्बरमा रहेका फखर जमान पनि पाकिस्तानका मुख्य ब्याटर हुन् ।
बलिङमा पाकिस्तानका साहीन शाह अफ्रिदी लयमा छन् । उनको तीव्र गतिको बलिङको सामना गर्न नेपाली ब्याट्सम्यानका लागि कठिन हुनेछ । अफ्रिदी विश्व वरीयतामा नवौं स्थानमा छन् । १० टिम सहभागी भएको एसिसी प्रिमियर कप जितेको नेपाली टिम एसोसिएट राष्ट्रमा बलियो टिम हो । विश्वकप छनोटमा जिम्बावेविरूद्ध ब्याटिङमा उत्कृष्ट सुरुवात गरेको नेपाल टिम पाकिस्तानसँग निडर भएर प्रस्तुत हुने कप्तान रोहितकुमार पौडेलको विश्वास छ । पौडेलले खेलअघि पाकिस्तानविरूद्धको खेल स्मरणीय बनाउने पनि बताएका थिए ।
ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखसँगै कप्तान रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, कुशल मल्लमाथि नेपाली टिमको विश्वास हुनेछ । यस्तै अलराउन्डर गुल्सन झा पनि नेपालको आसा हुन् । आइसिसीले गुल्सनलाई एसिया कपमा नेपाली टिममा प्रभाव पार्न सक्ने खेलाडीको सूचीमा स्थान दिएको छ ।
बलिङमा लेगस्पिनर सन्दीप लामिछाने नेपालका मुख्य हतियार हुन् । तीव्र गतिका बलरद्वय सोमपाल कामी र करण केसीको अनुभवबाट नेपालले फाइदा उठाउन सक्नु पर्नेछ । यस्तै स्पिनर ललित राजवंशीले पछिल्लो समय नेपाललाई चाहिएको बेला विकेट लिइरहेका छन् । उनले पनि एसिया कपमा आफ्नो क्षमता प्रस्तुत गर्ने अपेक्षा गर्न सकिन्छ ।
विश्व क्रिकेटमा भारत र पाकिस्तान बलिया टिम भए पनि नेपालले एकदिवसीय खेलमा प्रतिस्पर्धा गर्न पाएको थिएन । विश्व क्रिकेटमा भारत–पाकिस्तानले तहल्का मच्चाउदा नेपाल भने एसोसिएट टिमसँगै खेल्न बाध्य हुन प¥यो ।
अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २७ वर्षपछि भने बल्ल नेपालले पाकिस्तान र भारतसँग पहिलोपटक प्रतिस्पर्धा गर्ने अवसर पाउँदैछ ।