के भारतको पार्टी खराब गर्ला त नेपालले ?
Monday, September 4th, 2023, 6:00 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १७ भदौ
नेपाली क्रिकेट टिमले भारतको सिनियर टिमसँग अहिलेसम्म प्रतिस्पर्धा गरेको छैन । छिमेकी भारतले क्रिकेटमा प्रभाव जमाउन थालेको चार दशक भए पनि एसोसिएट टिम नेपाललाई भारतीय सिनियर टिमसँग खेल्ने कहिल्यै मौका जुर्न सकेन ।
अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २७ वर्षसम्म पनि नेपाली क्रिकेट टिमका लागि छिमेकी भारत बिरानो जस्तै भयो । भारतका कुनै पनि टिमलाई हराएको ६ वर्षपछि नेपाली सिनियर टिमले भारतीय सिनियर टिमसँग प्रतिस्पर्धा गर्दैछ ।
एसिया कप २०२३ अन्तर्गत नेपालले भारतसँग आज पहिलोपटक खेलेर इतिहास बनाउँदैछ । ६ वर्षअघि उमेर समूहको एकअर्काविरुद्ध भिडेका देसाई र द्रविड यतिबेला दुवै देशको सिनियर टिमको प्रशिक्षक छन् । अहिले दुवै सिनियर टिमको प्रशिक्षकको रुपमा एकआपसमा भिड्दैछन् ।
नेपाल र भारतबीचको खेल श्रीलंकाको पल्लेकेले मैदानमा नेपाली समयअनुसार सवा तीन बजे सुरु हुनेछ । नेपाल र भारत दुवै टिमले समूहका पहिलो खेल खेलिसकेका छन् । पाकिस्तानविरूद्धको पहिलो खेलमा नेपाल फराकिलो अन्तरले पराजित भएको थियो । भारत र पाकिस्तानबीच शनिबार भएको खेल वर्षाले रद्द हुँद दुवै टिमले एक एक अंक जोडेका थिए ।
समूहबाट पाकिस्तानले ३ अंक जोडेर सुपर–फोरमा स्थान पक्का गरिसकेको छ । अब नेपाल र भारतबीचको खेलपछि सुपर फोरमा पुग्ने दोस्रो टिमको टुंगो लाग्नेछ । जित हात पार्ने टिम सुपर फोरमा पुग्नेछ । केही गरी भोलिको खेल वर्षाले रद्द भए भारत सुपर फोरमा पुग्नेछ । भोलिको मौसमको पूर्वानुमानअनुसार पल्लेकेले मैदानमा खेल सुरु हुने समयमा वर्षा हुने सम्भावना न्यून छ । तर साँझ पछि भने पानी पर्ने सम्भावना देखिएको छ ।
भारतविरुद्ध पनि नेपालले सुरुवातदेखि नै अनुसाशित बलिङ गर्न पर्ने देखिन्छ । यस्तै ब्याटिङमा नेपालले भारतीय बलरविरुद्ध अपनाउनु पर्ने रणनीतिमा ध्यान दिनु पर्नेछ । विशेषगरी नेपाली ब्याटरका लागि तीव्र गतिका बलरको सामना गर्नु चुनौतीपूर्ण हुनेछ ।
नेपाली टिम
रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुल्सन झा, आरिफ शेख, सोमपाल कामी, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद, श्याम ढकाल ।