युनियन बाँकेले पत्रकारहरुको निःशुल्क मिर्गौला परीक्षण शिविर गर्दै
Monday, September 11th, 2023, 9:44 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २५ भदौं
नेपाल प्रेस युनियन बाँकेले मंगलबार प्रेस स्वतन्त्रता सेनानी स्व. पन्नालाल गुप्त ‘चाचा’को जन्मजयन्तीको अवसरमा पत्रकारहरुको लागि निःशुल्क स्वास्थ्य परीक्षण गर्ने भएको छ । गुप्त प्रेस युनियन बाँकेका संस्थापक पनि हुन ।
युनियन बाँकेले संस्थापक गुप्तको जन्मजयन्तीलाई भव्य रुपमा मनाने क्रममा बाँकेमा क्रियाशिल रहेका पत्रकारहरुको लागि निःशुल्क मिर्गौला परीक्षण शिविर आयोजना गर्न लागेको हो ।
बाँके शाखाका संस्थापक अध्यक्ष, प्रेस स्वतन्त्रता सेनानी गुप्तको ९५ औं जन्मजयन्तीको अवसरमा सेन्ट्रल सिटी हस्पिटलमा मिर्र्गाैला परीक्षण कार्यक्रमको आयोजना गर्न लागिएको हो ।
नेपाल प्रेस युनियन बाँके शाखा र वरिष्ठ पत्रकार स्व.पन्नालाल गुप्त प्रतिष्ठानको आयोजना तथा सेन्ट्रल सिटी हस्पिटलको सहकार्यमा मिर्गौला परीक्षण कार्यक्रमको आयोजना गरिएको सचिव भिष्म लोधले बताए ।
उनले भने, ‘भदौं २६ गते मंगलवार विहान ७ बजेदेखि १० बजेसम्म पत्रकारहरुका लागि निःशुल्क मिर्गौला परीक्षण कार्यक्रमको आयोजना गरिएको छ । यसले पत्रकारहरुलाई आफ्नो स्वास्थ्य सजगतासँगै मिर्गौलाको अवस्थाबारे पनि थाहा हुनेछ । समस्या देखिए समयमै रोगको पहिचान गरेर उपचारमा पनि सहजता मिल्नेछ ।’
पछिल्लो समय अस्वस्थ खानपान, फेरिँदो जीवनशैली लगायतका कारणले मिर्गौलाको समस्या विकराल बन्दै गएको छ । वरिष्ठ युरोलोजिष्ट डा. दिपेश गुप्ता नेतृत्वको टिमले पत्रकारहरुको निःशुल्क स्वास्थ्य परीक्षण गर्नेपनि सचिव लोधले बताए ।
योसँगै स्व.गुप्तको जन्मजयन्तीमा बुधबार २७ गते नेपालगन्ज महेन्द्र पुस्तकालयमा दिउँसो अन्तरक्रिया कार्यक्रमको पनि आयोजना गरिएको छ । पत्रकारिताको वर्तमान अवस्था, सम्भावना र चुनौति विषयक उक्त अन्तरक्रियामा यसक्षेत्रका नागरिक समाज, अधिबक्ता, बुद्धिजीवि, संचारकर्मी लगायतको उपस्थिति रहने छ ।