क्यान्सर अस्पतालमा रहेको बिरामी कुरुवा घरको समुदघाटन हुँदै
Thursday, September 14th, 2023, 4:06 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
खजुरा, २८ साउन
बाँकेको खजुरामा सञ्चालनमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल परिसरमा निर्माण गरिएको हस्पिक सेन्टर (बिरामी कुरुवा घर) को शुक्रवार समुदघाटन हुने भएको छ ।
लायन्स क्लब ईन्टरनेश्नल फाउन्डेस र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आर्थिक सहयोगमा लायन्स क्लब अफ नेपालगन्ज खजुरा र लायन्स क्लब अफ नेपालगन्ज सेन्टरले निर्माण गरेको (बिरामी कुरुवा घर) समुदघाटन तथा भवन हस्तान्तरण लायन्स क्लबका अन्र्तराष्ट्रिय डाईरेक्टर पिएमजेएफ लायन बालकृष्ण बुर्लाकोटीले गर्ने लायन्स क्लब अफ नेपालगन्ज खजुराका अध्यक्ष कृष्ण भण्डारीले बताए । सोही अबसर पारि लायन्स तथा लियो क्लब अफ नेपालगन्ज खजुराको पनि कार्यालय पनि समुदघाटन गरिने भण्डारीले बताए ।
हस्पिक सेन्टर सञ्चालनमा आएपछी क्यान्सर अस्पतालमा आएका जटिल प्रकृतिका बिरामीका कुरुवाहरुलाई धेरै सहज हुने अध्यक्ष भण्डारीले बताए । अस्पतालमा अहिले बहुप्रतिक्षित लिन्याक मेसिन सञ्चालनको अन्तिम चरणमा रहेको छ । लिन्याक मेसिन विकिरणका माध्यमबाट सेकाइ गरेर उपचार गर्ने मेसिन हो । उक्त मेसिनको सेवा लिन एक महिनादेखि ९० दिनसम्म पालो पर्खनुपर्ने बाध्यता हुन्छ ।
हस्पिक सेन्टर सञ्चालमा आएपछि बिरामी र आफन्तलाई होटलमा बस्नुपर्ने र महंगो पैसा तिर्नुपर्ने बाध्यता टर्नेछ । झण्डै १ करोडा ५० लाखको लागतमा निर्माण् गरिएको हस्पिक सेन्टर मा १५ वटा कोठा रहेका छन् । सबै कोठामा अट्याज बाथरुम र कमन किचन समेत रहेको भण्डारीले बताए । बिरामी र कुरुवाले निशुल्क रुपमा हस्पिक सेन्टरको सेवा लिन सक्ने उनले बताए ।
करिब २७ करोड मुल्यको उक्त मेसिनले पाठेघरको मुख, स्तन, नाक, कान घाटीलगायत शरीरका विभिन्न अंगहरुमा हुने क्यान्सरको उपचारका लागि बाहिरी सेकाइ गरेर उपचार गर्र्न मद्धत गर्दछ । अहिले उक्त मेसिनको सेवा लिन बिरामीहरु भरतपुर र भक्तपुर क्यान्सर अस्पताल धाउन बाध्य छन् । भरतपुर र भक्तपुरमा पनि उक्त मेसिनको सेवा लिन एक महिनादेखि ४५ दिनसम्म पालो पर्खनुपर्ने बाध्यता छ ।
त्यस्तै अस्पतालमा क्यान्सरका बिरामीहरुका लागि बनाइएको पोजिटिभ प्रेसर आइसियु पनि निर्माण गरिएको छ । यो आइसियु पनि संभवतः लुम्बिनी, कर्णाली र सुदुरपश्चिममा पहिलो पोजिटिभ प्रेसर आइसियु भएको डा.भट्टराईको दाबी छ । यो आइसियु क्यान्सरका सिकिस्त बिरामीहरुका लागी उपयुक्त हुनेगरी हावा भित्र्याउने र बाहिर पठाउनेगरी भेन्टिलेसन गरिएको आइसियु हो । जुन क्यान्सर बिरामीका लागि बरदान हो । यसैगरी अस्पतालमा रक्त क्यान्सरका बिरामीहरुको उपचारका लागि हेमाटो–अंकोलोजी वार्ड पनि सन्चालनमा आएको छ ।
अस्पतालमा चौबिसै घण्टा ल्याब तथा एक्स रे सेवा, अनलाइन बाटै अपोन्टमेन्ट र रिपोर्ट दिने सेवा सुरु भएको छ । अस्पतालमा हाल २० जना विशेषज्ञ चिकित्सकको टिमले बिरामीलाई शल्यक्रियासहितको उपचार सेवा प्रदान गर्दै आएको छ । अस्पतालमा मेडिकल अंकोलोजी, सिटी स्यानको माध्यबाट गरिने वायोप्सी, किमोथेरापीलगायत सबै किसिमका क्यान्सरको पहिचान र उपचार सेवा दिनसक्ने अवस्थामा पुगेको छ ।
२०६५ सालमा स्थानीय जनताहरुले महायज्ञमार्फत आर्थिक संकलन सुरु गरे पछि नेपाल सरकारले जिम्मा लिएको उक्त अस्पताल सुविधा बिस्तार र सेवा सुधारमा उल्लेखनिय प्रगति देखिन्छ । एक सय बेडको स्वीकृति पाएकोमा हाल ५७ बेडमा सेवा दिइरहेको अस्पतालमा अब सरकारले स्थाई दरबन्दी तय गरी अझै विशेषज्ञ सेवा थप गर्न अति जरुरी छ ।