नेपालगन्जमा जथाभावी फोहोर फाल्नेलाई अब जरिवाना गरिने
Thursday, September 21st, 2023, 8:56 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ४ असोज
नेपालगन्ज उप–महानगरपालिकाले सडकमा जथाभावी फोहोर फाल्नेलाई जरिवाना गर्ने तयारी गरेको छ । नेपालगन्ज उप–महानगरपालिकाका मेयर प्रशान्त विष्टले नगरलाई सफा राख्ने दायित्व आम नागरिकको भएको भन्दैं जथाभावी फोहोर नफाल्न नगरवासीलाई अनुरोध गरेका छन् । सुरुआतमा सचेतनाका कार्यक्रम गरेर जनतालाई जानकारी गराउने प्रयास गर्ने उनले बताए । उनले भने,‘अब हामी बाध्य भएर जथाभावी फोहोर फाल्नेलाई जरिवाना गर्ने अवस्थामा पुगेका छौं ।
नेपालगन्ज नगरमा सबै भन्दा धेरै रकम खर्च गरेर सरसफाईको काम नगरपालिकाले गरिरहेको छ । नगरपालिकाले सफाई गरेर गएपछि फेरी जथाभावी ढंगले सडकमा फोहोर फाल्ने गरिएको छ । फोहोरबाट उत्पन्न हुने धेरै रोगहरुको संक्रमण फैलिने सम्भावना धेरै हुन्छ । हामीले पटक–पटक यसबारेमा जनतालाई अवगत गराएका छौं । अब फोहोर मुक्त सहर बनाउन आम नागरिक, सरोकारवाला निकायको साथ र सहयोग आवश्यक छ ।’
सरसफाई अभियानको सुरुआत
नेपालगन्ज सहरलाई फोहोरमुक्त गराउने उद्देश्य सहित बाँके होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र नेपालगन्ज बाँकेले साताव्यापी अभियान सुरुआत गरेका छन् । शुक्रबार नेपालगन्ज उप–महानगरपालिकाका मेयर प्रशान्त विष्टले भेरी अस्पताल अगाडीबाट सरसफाई गरेर अभियानको सुरुआत गरे । संविधान दिवसको अवसर पारेर सरसफाई अभियानको सुरुआत गरिएको हो । शुक्रबार पहिलो दिन भेरी अस्पताल गेट देखि सेतुविक चोक सम्म सडक सफा गर्दै जनचेतना मुलुक कार्यक्रम गरिएको छ । यसैगरी सडक अगाडी फोहोर नफाल्ने प्रतिवद्धता जनाउँदैं हस्ताक्षर संकलन कार्यपनि गरिएको छ ।
‘आफनो फोहोर आफनैं डष्ट्रबिनमा, आफनो फोहोर आफै गाडीमा, सभ्य समाज सफा बजार, स्वस्थ जीवन, फोहोर मुक्त सडक हामी सबैको अभियान’ भन्ने नाराका साथ अभियानको सुरुआत गरिएको छ । बाँके होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष गोपाल गिरीले नेपालगन्ज नगरको विकासका लागि सरसफाईमा ध्यान दिनु पर्ने भएकोले अभियानको सुरुआत गरिएको बताए ।
उनले भने,‘एउटा सभ्य समाजको निर्माण गर्न नगर सफा हुन जरुरी छ । यसले हाम्रो नगरको विकास र प्रतिष्ठालाई नै असर गरेको हुन्छ । नगरलार्ई समृद्ध बनाउने हो भने सरसफाईमा विशेष ध्यान दिनु पर्छ ।’ शुक्रबार बिहान नेपालगन्ज भेरी अस्पताल गेटबाट अभियानको सुरुआत गरिएको छ । अभियानको उद्घाटन समारोहमा नेपालगन्ज उप–महानगरपालिकाका मेयर प्रशान्त विष्ट, बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आर्चाय, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख सन्तोष सिंह राठौर लगायतको उपस्थिती रहेको थियो ।