चेतन मानन्धर प्रकरणले लियो नयाँ मोड, प्रत्यक्षदर्शी भन्छनः घटना स्थलमा थिएनन् रिगल
Wednesday, October 11th, 2023, 5:58 pm Kalpristha
कालपृष्ठ समाचारदाता नेपालगन्ज, २४ असोज
आठवर्ष अघि नेपालगन्जमा दुई समुहको भिडन्तमा ज्यान गुमाएका चेतन मानन्धर प्रकरणले नयाँ रुप लिएको छ । घटनाका प्रत्यक्षदर्शीले चेतन मानन्धरलाई आक्रमण हुँदा योगराज ढकाल(रिगल) उक्त स्थानमा नभएको बताएका छन् । मृतक चेतन मानन्धरका साथीहरुले नै उक्त घटना हुँदा घटना स्थलमा रिगल नभएको खुलासा गरेका हुन ।
चेतनमाथि आक्रमण भएपछि उपचारको लागि नेपालगन्ज नर्सिङ होममा लग्ने युवाहरुले नै घटनालाई राजनितिकरण गर्ने प्रयास गरिएको बताएका छन् । चेतनलाई घटना स्थलबाट उपचार गर्न लग्ने व्यक्ति हुन नेपालगन्ज–४ बसपार्कका हिमाल नकबाघ । घटनाका प्रत्यक्षीदर्शी हिमालले घटना हुँदा रिगल उक्त स्थानमा नभएको खुलासा गरेका हुन । उनले भने,‘घटना हुँदा म चेतनदाईको साथमा थिए । हाम्रो समुहलाई आक्रमण भएको थियो । तर त्यतिबेला रिगल दाई त्यहाँ थिएन् । राजनितिक रुपमा रिगलदाईलाई फसाईएको हो । अहिले पनि फसाउने प्रयास गरिदैछ ।’
सडक निर्माणको ठेक्का र अन्य काममा आफनो वर्चस्व गुम्ने डरका कारण बाँके एमालेका नेताहरुले रिगललाई फसाउन लगानी गरिरहेको उनले आरोप लगाए । नर्सिङ होममा चेतनको उपचारमा पनि लापरबाही भएको हिमालले खुलासा गरे ।
घटनाका प्रत्यक्षदर्शी समेत रहेका चेतनका साथी विनय तामाङले पनि आक्रमण हुँदा रिगल घटना स्थलमा नभएको बताएका छन् । चेतनालाई छबिलाल बस्नेतले आक्रमण गरेको बताउँदै विनयले भने,‘छबिलालको समुहले हामीमाथि आक्रमण गरेको हो । रिगल ढकालले होइन । अहिले जे–जति कुरा आएपनि रिगललाई उनका बिरोधीले फेरी फसाउन खोजेका छन् ।’
अर्का प्रत्यक्षदर्शी नेपालगन्ज धम्बोझीका बबी गुरुङले घटना हुँदा रिगलको त्यहाँ उपस्थिती नरहेको बताएका छन् । राजनितिक प्रतिसोधका कारण ढकाललाई फसाउने काम भैरहेको भन्दैं गुरुङले आम जनतासमक्ष रिगल निर्दोश भएको बताए ।
नेपालगन्जको धम्बोझीमा २०७२ साल असार २८ गते बस समितिको विषयलाई लिएर विवाद भएको थियो । उक्त घटनामा मानन्धरको मृत्यु भएपछि ढकाललाई राजनितिक प्रतिसोध साध्नको लागि फसाइएको थियो ।
आठ वर्षको जेल सजाय पछि कैद मिनाह गरेर आएपछि ढकालको बारेमा सामाजिक संजालमा विभिन्न नकारात्मक टिकाटिप्पणी आइरहेका छन् ।
चेतनकी पुर्व पत्नी भारतीले ढकाललाई सजाय हुनु पर्ने भन्दैं काठमाडौंमा प्रदर्शन गर्दै आएकी छिन् । दाङ कारागारमा रहँदा भारतीले आफुसँग ५० लाख रुपैयाँ मागेको ढकालले सार्वजनिक रुपमा बताएका थिए ।
आर्थिक प्रलोभन, उस्काहट र राजनितिक प्रतिसोध साध्नको लागि भारतीले बार्गेनिङ गरेको ढकालले आरोप लगाए । मानन्धरको मृत्यु भएपछि भारतीले निमा शेर्पासँग दोस्रो विवाह गरेकी थिईन । आफु दाङ कारागारमै भएका बेला भारतीले छोराको नाममा बार्गेनिङ ढकालले बताए । तर आफुले छोराको सम्पुर्ण पढाई र उच्च शिक्षामा सहयोग गर्ने प्रतिवद्धता जनाएपनि ५० लाख भने दिन नसक्ने बताएको ढकालले बताए । यता भारतीले पनि आफुप्रति लगाएका आरोपको खण्डन गर्दै आएकी छिन् ।