सहर चिनाउँदैं मेयर कप साईकल दौड प्रतियोगिता
Thursday, December 7th, 2023, 4:33 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २१ मंसिर
साईकलको माध्यमबाट नेपालगन्ज सहरलाई चिनाउने उद्देश्य सहित नेपालगन्ज साईक्लोथन छैठौं मेयर कप साईकल दौड प्रतियोगिता शुक्रबार हुँदैछ । नेपालगन्जको रामलिला मैदानबाट बिहान ७ः३० बजेदेखी प्रतियोगिता सुरु हुनेछ । प्रतियोगिताको रुट रामलिला मैदान, बुलबुलिया, उदयपुर, डम्पिङ साईट, तेलियनपुर, पुरैना, फुल्टेक्रा, हडियाबाबा हुँदै पुनः रामलिला मैदानमा आएर समापन हुने निर्धारण गरिएको छ । आयोजक नेपालगन्ज साईक्लिङ क्लबका अध्यक्ष सतिश निरौलाले बिहिबार पत्रकार सम्मेलनमा प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको जानकारी गराए । प्रतियोगिताको उद्घाटन नेपालगन्ज उप–महानगरपालिका मेयर प्रशान्त विष्टले गर्नेछन् ।
नेपालगन्ज उप–महानगरपालिकाको सहकार्यमा हुन लागेको प्रतियोगितामा ९६ खेलाडीले सहभागिता जनाउने निश्चित भैसकेको आयोजकले बताएको छ । यस पटक प्रतियोगितामा राष्ट्रिय स्तरका खेलाडीहरुको पनि सहभागिता रहनेछ । नेपालगन्ज साईक्लिङ क्लबका सचिव प्रदिप सापकोटाका अनुसार प्रतियोगितामा राष्ट्रिय स्तरका खेलाडीहरु निमा शेर्पा, अच्युत कृष्ण खरेल, प्रकाश थापा, जगत ढोली, मान बहादुर थापाले प्रतिस्पर्धा गदैछन् ।
प्रतियोगितालाई आर्कषक बनाउन आयोजकले विभिन्न ५ विधाहरु समावेश गरेको छ । जस अन्तर्गत एमटिबी पुरुष(३३ किलोमिटर), एमटिबी महिला(२० किलोमिटर), एमटिबी स्पेसल(१० किलोमिटर), साधारण साईकल पुरुष(२० किलोमिटर) र साधारण साईकल महिला(१५किलोमिटर) विधा रहेका छन् ।
प्रतियोगितामा एमटिबी पुरुष तर्फको पहिलो स्थान प्राप्त गर्नेले २० हजार, दोस्रोले १५ हजार, तेस्रोले १० हजार र एमटिबी महिला तर्फमा प्रथम हुनेले १५ हजार, दोस्रोले १० हजार र तेस्रोले ५ हजार पाउनेछन् ।
यसैगरी साधारण साईकल पुरुष तर्फ क्रमश ८ हजार, ६ हजार र ४ हजार तथा साधारण साईकल महिला तर्फ क्रमश ७ हजार,५ हजार र ३ हजार नगद पुरस्कार राखिएको आयोजकले जनाएको छ । स्पेशल विधामा आर्कषक पुरस्कारको व्यवस्था रहेको कार्यक्रम संयोजक सुरेन्द्रदिप कार्कीले बताए ।
आयोजक नेपालगन्ज साईक्लिङ क्लबका अध्यक्ष निरौलाले प्रतियोगिताले खेल पर्यटनसँगैं साईकलको संस्कृति विकास गर्न सहयोग गर्ने बताए । उनले भने,‘मेयर कप साईकल प्रतियोगितालाई सहर चिनाउने अभियानको रुपमा लिएका छौं । यसमा नेपालका चर्चित खेलाडीहरुको सहभागिता रहनेछ । प्रतियोगिताले नेपालगन्जमा साईकल खेलाडीको संख्या पनि बढाउनेछ ।’
https://fb.watch/oNlo_iVCWj/