कोरोना संक्रमितको उपचारका लागि प्रयोग हुने रेम्डेसिभिर खरिद गर्न तीन कम्पनीलाई अनुमति : नेपाल औषधि विभाग
Monday, August 17th, 2020, 1:37 pm
amit
काठमाडौं, भदौ १ । औषधि व्यवस्था विभागले मापदण्ड पुगेका तीन वटा निजी कम्पनीलाई कोरोना संक्रमितको उपचारमा सफल मानिएको रेम्डेसिभिर औषधि खरिद गर्न तीन वटा निजी कम्पनीलाई अनुमति दिइएको छ।
विभागका निर्देशक नारायण प्रसाद ढकालले यसको क्लिनिकल ट्रायल गर्दै अनुसन्धान पनि गर्दै जाने हिसाबले यती फर्मा, सिनर्जी ओभर्सिस र भियोभिस लाइभ साइन्सेसलाई रेम्डेसिभिर आयात गर्न अनुमति दिइएको जनाएका छन् ।
उनका अनुसार आयात भएको रेम्डेसिभिर नेपाल स्वास्थ्य अनुसन्धान परिषद्सँग समन्वय गरेर प्रयोग गरिनेछ।
त्यस्तै रेम्डेसिभिर आयात गरेपछि यो अरु औषधि जस्तो बजारमा बेच्न पाइने छैन भने चिकित्सकहरूको प्रत्यक्ष निगरानीमा आवश्यक बिरामीहरूलाई मात्र प्रयोग गर्ने परिषद्का अनुसन्धानकर्ता मेघनाथ धिमालले बताएका छन् ।
धिमालका अनुसार चिकित्सकहरूले प्रयोग गरेपछि औषधिको प्रभावकारिताबारे परिषद्ले पनि अनुसन्धान गर्नेछन् ।
यसैगरी यो औषधिको प्रयोगले अमेरिका, युरोप र भारतमा सफलता देखिएपछि नेपालमा पनि यसको प्रभावकारिताबारे अध्ययन गर्न परिषद्ले कदम चालेको हो ।
भारतमा पनि गत महिना यो औषधि केही संक्रमितहरूमा प्रयोग गर्दा प्रभावकारी देखिएको बताइएको छ।
विज्ञहरूका अनुसार एन्टी भाइरल ड्रग को रुपमा प्रयोग गरिने यो औषधि संक्रमितलाई दिएपछि यसले भाइरसलाई परास्त गर्न सघाउ पुर्याउने छ । जसले गर्दा बिरामी चाँडै संक्रमणमुक्त हुनेछन् ।
कोरोना संक्रमितको उपचारमा खटिएका चिकित्सकहरूले पनि रेम्डेसिभिरको प्रयोगले बिरामी चांडै निको भई घर फर्केने बताएका छन् ।
विभिन्न क्लिनिकल ट्रायलले रेम्डेसिभिरको प्रयोगले संक्रमितको उपचारमा सघाउ पुर्याएको देखिएको हुदाँ बिरामीको अस्पताल बसाइँ घटेको देखिन्छ तर अहिले पनि अनुसन्धानकै क्रममा रहेकाले यसले ठूलै परिवर्तन ल्याउँछ भन्न नमिल्ने टेकु अस्पतालका चिकित्सक अनुप बाँस्तोलाको भनाइ छ ।
सर्वप्रथम यो औषधिको प्रयोग इबोला भाइरसको उपचारमा गरिएको थियो । यसलाई अमेरिकाको फुड एन्ड ड्रग एसोसिएसन एफडिएले पनि मान्यता दिइसकेको छ ।
विज्ञहरूका अनुसर भारतलगायत अन्य देशमा यो औषधिको प्रभावकारिता देखिएको हुनाले नेपालमा पनि शिघ्र प्रयोगमा ल्याउनुपर्ने देखिएको छ ।
यसैगरी नेपालमा कोरोना संक्रमितको उपचार गरिरहेका अस्पतालहरूले पनि रेम्डेसिभिरको प्रयोग गर्न आफू तयार रहेको जनाएका छन् ।
टेकु अस्पतालका निर्देशक डा। सागर राजभण्डारीका अनुसार अस्पतालले डेक्सामेथासोन र प्लाज्मा थेरापीबाट उपचार गर्दै आएका र अब रेम्डेसिभिर पनि छिट्टै प्रयोगमा ल्याइनेछ ।