सडकमा फोहोर फाल्नेलाई जरिवाना
Monday, February 26th, 2024, 4:43 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १४ फागुन
नेपालगन्ज उप–महानगरपालिकाका सडकमा जथाभावी फोहोर फाल्नेमाथि कारवाही थालिएको छ । पटक–पटकको आग्रहको बेवास्ता गर्दै सडकमा फोहोर फाल्ने क्रम नरोकिएपछि नेपालगन्ज उप–महानगरपालिका कार्यालयले जरिवाना गर्न थालेको हो । स्थलगत अनुगमनका क्रममा जथाभावी फोहोर फाल्नेमाथि कार्वाही गरिएको छ । यसैक्रममा आधा दर्जन बढी व्यापारिक फर्म, बैंक तथा पसललाई जरिवाना गरिएको नेपालगन्ज उप–महानगरपालिकाले जनाएको छ ।
आइतबार साँझ ग्लोबल आइएमई बैंक, राही मार्ट, शर्मा प्लास्टिक, ए टु जेड मोबाइल पसल, रोयल कर्णाली मार्ट, राहुल मःम सेन्टर र मयुरिया रेस्टुरेन्ट एण्ड बारले सडकमा जथाभावी फोहोर फालेको भेटिएपछि नेपालगन्ज उप–महानगरपालिकाको फोहोरमैला व्यवस्थापन ऐन २०७५ बमोजिम जनही ५ हजार तथा पुष्पा इलेक्ट्रिकल्स सप्लायर्सलाई सडकमा २४ घण्टा भन्दा बढी समयदेखि निर्माण सामग्री राखेवापत ५ हजार रुपैयाँ जरिवाना गरिएको छ ।
नगर प्रमुख प्रशान्त विष्ट, नगर प्रहरी, नेपालगन्ज उद्योग बाणिज्य संघ, नागरिक समाज, होटेल व्यवसायी संघ लगायत सर्वपक्षीय टोलीले धम्बोझी चोकदेखि गुल्मसम्म सडकको दायाँबायाँ क्षेत्रमा अनुगमन तथा निरीक्षण गरेको थियो । त्यसक्रममा सडकमा फोहोर फाल्ने र लामो समयसम्म निर्माण सामग्री सडकमै थुपार्नेलाई जरिवाना गरिएको हो ।
यसअघि नेपालगन्ज उप–महानगरपालिकाले फोहोरमैला व्यवस्थापनका लागि नागरिक तहमा जागरण ल्याउन सचेतना प्रवर्द्धन अभियान थालेको थियो । अनुगमन टोलीमा नगर प्रहरी प्रमुख सूर्य बोगटी, नेपालगन्ज उद्योग बाणिज्य संघका महासचिव भिम रानाभाट, नेपालगन्ज उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, सामाजिक अभियन्ता एवम् व्यवसायी गोपाल गिरी, व्यवसायी ध्रुब दाहाल लगायत सहभागी हुनुहुन्थ्यो ।
नेपालगन्ज उप–महानगरपालिकाको फोहोरमैला व्यवस्थापन ऐन २०७५ अनुसार ५ हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म जरिवाना गर्न सकिन्छ । नगर प्रमुख विष्टले नगर सफा राख्नु सबै नगरबासीको दायित्व भएको भन्दै जथाभावी फोहोर नफाल्न आग्रह गर्नुभएको छ । विष्टले अब हरेक दिन साँझ नगरमा अनुगमन गरिने बताउनुभयो ।