जनस्वास्थ्य आपत्काल घोषणा गर्नु भन्दै गगन थापाले प्रधानमन्त्रीलाई पठाए ध्यानाकर्षण पत्र
Tuesday, August 18th, 2020, 5:34 pm
amit
काठमाण्डौ, २ भदौ । नेपाली कांग्रेसका नेता गगन थापाले कोरोना संक्रमण नियन्त्रणका लागि सरकारलाई सुझावसहित ध्यानाकर्षण पत्र पठाएका छन् ।
यसैगरी पूर्व स्वास्थ्यमन्त्री समेत रहनुभएका थापाका अनुसार सरकारको लापर्वाहीले गर्दा हाल कोरोना सङ्क्रमण भयावह अवस्थामा पुगेको छ भने कोरोना महामारीको रोकथाम र नियन्त्रणका लागि सबै तहबाट सहयोग प्राप्त हुदाँ पनि सरकारको असंवेदनशीलता, अहङ्कार र अकर्मण्यताका कारण यो भयानक अवस्था आएको हो ।
त्यस्तै थापाले कोरोना रोकथाम र नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न पछिल्लो पटक गत असार २ गते नेपाली कांग्रेस संसदीय दलका तर्फबाट प्रधानमन्त्रीसंग प्रत्यक्ष भेटघाट गरेर ध्यानाकर्षण गराएको र त्यसलगत्तै संसदमा ध्यानाकर्षण प्रस्ताव दर्ता गराएको पनि जानकारी गराएका छन् ।
नेता थापाका अनुसार कोरोना काठमाण्डौ उपत्यकालगायका क्षेत्रमा कोरानो सङ्क्रमण दर बढ्दो क्रममा रहेकाले काठमाण्डौ उपत्यकालगायका क्षेत्रमा तत्काल जनस्वास्थ्य आपत्काल घोषणा गर्न प्रधानमन्त्रीलाई सुझाव पनि दिएका छन् ।
थापाले लेख्नुभएको छ, ‘कोरोनाको बढ्दो सङ्क्रमण र सरकारको गैरजिम्मेवारीपनबाट उत्पन्न बेचैनीमा झिनो आशाका साथ पुनः यो पत्रमार्फत देशको सरकार प्रमुखको ध्यानाकर्षण गराउन खोजेको छु ।’