काठमाडौंसहित देशभरका सबै जिल्ला प्रशासनलाई निषेधाज्ञा जारी गर्न पाउने अधिकार
Tuesday, August 18th, 2020, 7:34 pm
amit
काठमाडौं, २ भदौ । देशभर बढ्दो कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखी संघीय सरकारले काठमाडौं उपत्याकासहित सबै जिल्लाहरू जिल्ला कोभिड व्यवस्थापन समिति र जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गर्न सक्ने व्यवस्था गरेको छ । मन्त्रिपरिषद् बै्ठकको निर्णय सुनाउँदै अर्थमन्त्री डा. युवराज खतिवडाले स्थानीय प्रशासन ऐन, २०२८ अनुसार जिल्लाभर तथा कुनै निश्चित ठाउँमा निषेधाज्ञा जारी गर्न सक्ने जनाएका छन् ।
यसैगरी संक्रमण जोखिमको विश्लेषणका आधारमा संक्रामक रोग ऐन, २०२० को दफा २ को उपदफा २ बमोजिम कोभिड १९ उपचार रोकथाम तथा नियन्त्रणका लागि सम्बन्धित जिल्लाभर वा जिल्लाको कुनै भागमा मात्र लागू हुने गरी आवश्यक व्यवस्था मिलाउन र सोको निमित्त आवश्यकताअनुसार स्थानीय प्रशासन ऐन, २०२८ बमोजिमको अधिकारसमेत प्रयोग गर्न सबै जिल्ला अधिकारीहरूलाई मुकरर गरी अधिकार सुम्पनेु निर्णय भएको उनले बताएका छन् ।
त्यस्तै सरकारले निशेधाज्ञा जारी भएको क्षेत्रमा रहने सरकारी तथा सार्वजनिक कार्यालयहरूले न्यूनतम संख्याका कर्मचारीबाट काम चलाउन र अन्यलाई घरबाट काम गर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ । निषेधाज्ञा जारी गरिएको क्षेत्रमा अत्यावश्यक कामबाहेक बाहिर ननिस्कनका लागिसमेत आग्रह गरिएको छ ।