कोरोना भाइरसको खोप खरिदका लागि अस्ट्रेलिया र अस्ट्राजेनिकाबीच सम्झौता
Wednesday, August 19th, 2020, 6:47 pm
amit
एजेन्सी, ३ भदौ । बेलायती–स्वेडिस फर्मास्युटिकल कम्पनी अस्ट्राजेनिकाले विकास गरिरहेको कोरोनाभाइरसको सम्भावित खोप खरिद गर्न सम्झौता गरिएको अस्ट्रेलियाले घोषणा गरेको छ ।
अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनका अनुसार अक्सफोर्ड विश्वविद्यालयले तयार पारेको कोभिड–१९ को खोप सबै अस्ट्रेलियालीका लागि निःशुल्क वितरण गरिनेछ तर यसका लागि उक्त खोपको क्लिनिकल परीक्षण सफल, सुरक्षित र प्रभावकारी हुनुपर्नेछ ।
यसैगरी अक्सफोर्डको खोप परीक्षणको तेस्रो चरणमा प्रवेश गरेको र यो सफल हुन अझै धेरै काम गर्न बाँकी रहेको बताउँदै यो खोप सफल प्रमाणित भए तत्कालै उत्पादन गरेर २ करोड ५० लाख अस्ट्रेलियालीलाई निःशुल्क उपलब्ध प्रधानमन्त्री मरिसनले बताएका छन् ।
प्रधानमन्त्री मरिसनले अस्ट्रेलियाका छिमेकी मुलुकलाई पनि यो खोप उपलब्ध गराउन सकिने बताएतापनि , उनले यस सम्बन्धी विस्तृत विवरण दिन अस्वीकार गरेका छन् ।
त्यस्तै उनले कोरोना भाइरसविरुद्घको खोपका बारेमा इन्डोनेसियाका राष्ट्रपति जोको विडोडा, पपुवा न्यू गिनीका प्रधानमन्त्री जेम्स मारापे र फिजीका प्रधानमन्त्री फ्रान्क बैनीमारामासँग पनि हालै छलफल गरिसकेका छन् । अस्ट्रेलियाले प्रशान्त क्षेत्रीय राष्ट्रहरुलाई मद्दत गर्न पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रधानमन्त्री मरिसनले संवाददाताहरुलाई बताएका छन् ।