सरकारको निर्णय नमान्ने निजी अस्पतालहरुको पीसीआर ल्याब बन्द गरिदिने सरकारको चेतावनी
Wednesday, August 19th, 2020, 8:09 pm
amit
काठमाडौं, ३ भदौ । सरकारले गरेको निर्णयअनुसार कोरोनाका विरामीका लागि बेड नछुट्याउने अस्पताललाई पीसीआर टेष्टका लागि दिएको अनुमति खारेज गर्ने चेतावनी दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय अनुसार निजी अस्पतालहरुले २० प्रतिशत र मेडिकल कलेजहरुले एक तिहाई वेड कोरोना संक्रमितका लागि व्यवस्था गर्नुपर्नेछ ।
तर कोभिड र ननकोभिडका बिरामीलाई एउटै अस्पतालमा राखेर उपचार गर्नु घातक हुने निजी अस्पतालहरुले बताएका छन् । निजी अस्पतालहरुको छाता संगठन एशोसिएसन आफ प्राइभेट हेल्थ इन्स्टिच्युट आफ नेपाल (अफिन) का अनुसार सरकारले चाहे केही निजी अस्पताललाई पूर्ण रुपमा कोभिड अस्पताल बनाउन सक्दछ ।
साथै अफिनले सरकारले तोकेको शुल्कमा पनि असहमति जनाउनुका साथै सरकारले पीपीईलगायतका सुरक्षा सामग्री उपलब्ध गराएमा मात्र दैनिक ३५०० देखि १५ हजारमा कोरोना संक्रमितको उपचार गर्न सकिने बताएको छ ।
तर स्वास्थ्य मन्त्रालयले भने आफ्नो निर्देशन नमान्ने निजी अस्पताललाई पीसीआर टेष्टका लागि दिएको अनुमति नै खारेज गर्ने चेतावनी दिएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले दिएका जानकारी अनुसार इन्सिडेन्ट कमाण्ड सिस्टमको मंगलबार बसेको बैठकले सरकारको निर्णय नमान्ने अस्पताल तथा मेडिकल कलेजलाई ल्याब सञ्चालन गर्न दिएको अनुमति खारेज गर्ने र निर्णय मान्ने सबैलाई ल्याब सञ्चालन गर्न दिने निर्णय गरेको हो ।