गाडीको नम्बर अङ्ग्रेजी भाषामा नभई देवनागरीमा लेखिन्छ ः प्रधानमन्त्री ओली
Thursday, August 20th, 2020, 11:29 am
amit
काठमाडौं, ४ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सवारी साधनका नम्बर प्लेटमा अग्रेंजी भाषाको प्रयोग मा रोक लगाई देवनागरी लिपिको प्रयोग गराउन आफू गम्भीर रहेको बताएका छन् ।
नेपाल प्रज्ञा –प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले हिजो सो विषयमा प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएपछि यसबारे सम्बन्धित मन्त्रालय र निकायसँग परामर्श गरी अङ्ग्रेजी भाषाको प्रयोग हुन लागेका भएमा रोक लगाउने प्रधानमन्त्रीले विश्वास दिलाएका छन् ।
यसैगरी कुलपति उप्रेतीले प्रधानमन्त्री ओलीलाई हाई सेक्युरिटी इम्बोस्ड भेहिकल नम्बर प्लेटमा देवनागरी लिपिको प्रयोगले नेपाली भाषा, राष्ट्रिय सुरक्षा, राष्ट्रियता, संविधान र मौलिकताको संरक्षण गर्ने अवगत गराएका थिए ।
नेपाल सरकारको निर्णयानुसार २०७४ भदौ ५ गतेदेखि सवारी साधनमा अङ्ग्रेजी भाषामा इम्बोस्ड नं प्लेट राख्न शुरु गरिएकामा सोविरुद्ध सर्वोच्च अदालतबाट गत २०७६ मङ्सिर २७ गते अन्तरिम आदेश जारी भइसकेको छ ।
नेपालको संविधानको धारा ७ को उपधारा ९१० मा देवनागरी लिपिमा लेखिने नेपाली भाषा सरकारी कामकाजको भाषा हुने छ भनी प्रष्ट उल्लेख गरिएको छ । कुलपति उप्रेतीका अनुसार हालसम्म नेपालमा कूटनीतिक नियोगका सवारी साधनबाहेक सरकारी, संस्थान, सार्वजनिक र निजी सवारी साधनमा राखिने नम्बर प्लेट देवनागरी लिपिमा नै लेखाएर राख्ने गरिएकोे छ ।
कतिपय शहरी र ग्रामीण क्षेत्रमा समेत अङ्ग्रेजी भाषिक साक्षरताको प्रतिशत अत्यन्त न्यून रहेका अवस्थामा सवारी साधनमा राखिने इम्बोस्ड नम्बर प्लेटमा देवनागरी लिपिको प्रयोग नगरी अङ्ग्रेजी लिपिको मात्र प्रयोग गर्दा सर्वसाधारणलाई नम्बर प्लेटको अङ्क र अक्षर पढ्न र बुझ्न कठिन हुन जाने, दुर्घटना हुँदा दुर्घटना गराउने सम्बद्ध चालक र सवारी साधनले सहजै उन्मुक्ति पाउन सक्ने र पीडित नागरिकले सहजै न्याय नपाउने सम्भावना बढी हुने प्रतिष्ठानको धारणा छ ।