कक्षा ११ को नयाँ भर्ना प्रक्रियाको निधो भदौ १५ पछिमात्र
Thursday, August 20th, 2020, 1:56 pm
amit
काठमाण्डौ, ४ भदौ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षाफल प्रकाशित गरे पनि कक्षा ११ मा भर्नाको निधो भने भदौ १५ पछि मात्र हुने बताइएको छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गेहनाथ गौतमका अनुसार सरकारले विद्यार्थीको शैक्षिक सत्र खेर जान नदिने उद्देश्यले नै सङ्क्रमणबीच नतिजा सार्वजनिक गरेको हो भने भदौ १५ गतेसम्म शैक्षिक संस्थामा भर्ना लगायतका प्रक्रिया रोक लगाइएको हुनाले भर्नाको निधो भने भदौ १५ पछि मात्र हुनेछ ।
कोरोना संक्रमणको जोखिमका कारण दुई तीन महिना ढिला कक्षा सञ्चालन भए पनि कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीलाई कुनै समस्या नहुने गौतमले बताएका छन् ।
सरकारले यसअघि नै नयाँ शैक्षिक सत्रबाट नयाँ पाठ्यक्रम लागू गर्ने निर्णय गरिसकेको हुनाले यस पटक ११ मा भर्ना हुने विद्यार्थीले नयाँ कक्षामा यसै शैक्षिक सत्रबाट लागू गर्ने भनिएको नयाँ पाठ्यक्रम अध्ययन गर्नुपर्नेछ ।
त्यस्तै राष्ट्रिय परीक्षा बोर्डले आगामी दुई तीन साताभित्रमा विद्यार्थीको प्रमाणपत्र विद्यालयमा पठाउने गरी तयारी थालेको छ भने त्यसपछि विद्यार्थीलाई भर्नाका लागि औपचारिक बाटो खुल्नेछ ।
यसैगरी बोर्डका परीक्षा नियन्त्रक रामराज खकुरेलका अनुसार आगामी जेठ असारमा विद्यालय स्वयंले विद्यार्थीको परीक्षा लिने भएकाले विद्यार्थीका लागि अध्ययन गर्ने समय पुग्नेछ ।