फ्रान्सलगायत स्पेन, जर्मनी र इटालीमा फेरि कोरोना संक्रमितको संख्या बढ्न थाल्यो
Friday, August 21st, 2020, 2:47 pm
amit
एजेन्सी, ५ भदौ । कोरोना भाइरसको संक्रमण पुनः युरोपेली मुलुकहरुमा बढ्ने क्रममा देखिएको छ । फ्रान्समा बिहीबार मात्र कोरोना भाइसका ४ हजार ७७१ नयाँ संक्रमित भेटिएको पुष्टि भएको छ ।
फ्रान्समा अघिल्लो दिनको तुलना भन्दा एक हजारभन्दा बढी नयाँ कोरोना संक्रमित फेला परेका हुन् । मेपछिकै पहिलोपटक फ्रान्सन्समा कोरोना भाइरसका चार हजारभन्दा धेरै नयाँ कोरोना संक्रमित फेला परेका हुन् ।
फ्रान्सका साथै स्पेन, जर्मनी र इटालीमा पनि कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेको छ । स्पेनमा पनि बिहीबार मात्रै ३ हजार ३४९ नयाँ कोरोना संक्रमित भेटिएको पुष्टि भएको छ भने त्यहाँ अधिकांश संक्रमण युवामा देखिएको छ । जर्मनीमा भने विदेशबाट फर्किएका मानिसहरु धेरै संक्रमित भएको पुष्टि भएको छ ।
यसैगरी बेलायतमा पनि बिहीबार १ हजार १८२ नयाँ कोरोना संक्रमित भेटिएका छन् । जर्मनीमा १ हजार ७०७ नयाँ संक्रमित भेटिएको पुष्टि भएको थियो भने कोरोना भाइरसले सबैभन्दा क्षति पुर्याएको युरोपेली मुलुक इटालीमा पनि बिहीबार ८५४ नयाँ कोरोना संक्रमित भेटिएका छन् । गत मेपछि पहिलोपटक इटालीमा यति धेरै संख्यामा नयाँ संक्रमित थपिएका हुन् ।
फ्रान्समा कोरोना भाइरसको परीक्षण बढाइएसँगै कोरोना संक्रमण पनि फैलिएको हो । गत साता फ्रान्समा ६ लाख ६४ हजारभन्दा धेरै कोरोना भाइरसको परीक्षण गरिएको थियो । तरपनि फ्रान्समा जुलाईको तुलनामा अगष्टमा करिब दोब्बर कोरोना संक्रमित भेटिएका छन् । साथै फ्रान्सको सबै ठूला सहरी क्षेत्रमा नागरिकको सुरक्षाका लागि मास्कको प्रयोग अनिवार्य गरिएको छ ।
नागरिकको सहजताका लागि लकडाउन खुकुलो पार्ने र जनजीवन सामान्य बनाउने प्रयासमा कोरोना भाइरसको संक्रमणमा उच्च वृद्धि भएको छ । भौतिक दुरीको नियम पालना नगर्ने अटेर मानिसहरुको कारण पनि कोरोना संक्रमण बढेको हो ।