सबै नागरिकको निःशुल्क कोरोना परीक्षण गरिदिनका लागि हङकङ सरकार तयार
Friday, August 21st, 2020, 6:30 pm
amit
एजेन्सी, ५ भदौ । हङकङ सरकारले अर्को महिना आफ्ना सबै नागरिकको स्वास्थ्य सुरक्षालाई मध्य नजर गर्दै सबै नागरिकको कोरोना भाइरस निःशुल्क परीक्षण गर्ने भएको छ ।
चीनको राजनीतिक नेतृत्वसँग हङकङका जनता रुष्ट भइरहेको बेला चिनियाँ कम्पनीहरूको प्रायोजन रहने उक्त योजनामा हङकङका कति नागरिकले सहभागिता जनाउँछन् भन्ने विषयमा भने धेरै प्रश्नहरू रहेको बताइएको छ ।
कोरोना भाइरसको महामारी सुरु हुनु पूर्व चीनले ल्याएको सुपुर्दगी सम्बन्धी कानूनका कारण हङकङका नागरिकले ठूलो आन्दोलन तथा प्रर्दशन गरेको थियो । कोरोना भाइरस महामारीका कारण चीनविरुद्धको उक्त आन्दोलन सेलाएको भएतापनि पछिल्ला दिनमा फेरि हङकङमा चीनविरोधी गतिविधिहरू सुरु हुन थालेका छन्।
त्यस्तै गत सातामात्र चीन सरकारले हङकङका एक सञ्चार उद्यमीलाई चिनियाँ राजनीतिक नेतृत्वको आलोचना तथा स्वतन्त्रताको कुरा उठाएबाप पक्राउ गरेको थियो ।
यसैगरी हङकङमा अहिले कोरोना भाइरस संक्रमणकको तेस्रो लहर सुरु भएको हुनाले सो नियन्त्रण गर्ने उद्देश्यका साथ सबै नागरिकको कोरोना परीक्षण गर्ने निर्णय गरिएको थियो ।
विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूको अनुमान अनुसार चिनियाँ सरकारसँग रुष्ट भएकाले हङकङका धेरै जनताले यो अभियानअन्तर्गत परीक्षण नगराउने सम्भावना रहेको छ ।