कोरोना संक्रमितको संख्या बढ्न थालेपछि दक्षिण कोरियामा देशव्यापी निषेधाज्ञा जारी
Saturday, August 22nd, 2020, 7:04 pm
amit
एजेन्सी, ६ भदौ । दक्षिण कोरियाले कोरोना भाइरस संक्रमणका कारण देशभर निषेधाज्ञा जारी गर्ने घोषणा गरेको छ । त्यहाँका अधिकारीहरुका अनुसार कोरोना भाइरसको संक्रमण थप फैलिन नदिनका लागि केही गतिविधिहरुमा देशभरी निषेधाज्ञा जारी गरिएकोे छ ।
सरकारले भेला हुन, रात्रीकालिन गतिविधिहरु गर्न, चर्च, खेलकुद तथा अन्य भिडभाड हुने ठाउँहरुका गतिविधिहरुमा रोक लगाइएको छ । स्वास्थ्य मन्त्री पार्क नेउङ हुका अनुसार शनिबारदेखि यस्ता गतिविधिहरुमा देशभरी नै रोक लगाइएको छ ।
दक्षिण कोरियामा शनिबार थप ३३२ जनामा कोरोना संक्रमण पुष्टि भएको उनले बताएका छन् । थपिएका नयाँ संक्रमित मध्ये अधिकांश राजधानी सोल महानगरपालिका भित्र नै देखिएको पाइएको छ । पछिल्लो समय दक्षिण कोरियामा कोरोना संक्रमितको संख्या थप बढ्दै गएको पाइएको छ ।
संक्रमण राजधानी बाहेक देशका अन्य ठूला सहरहरुमा पनि देखिएको स्वास्थ्य मन्त्री हुले जानकारी दिएका छन्। कतिपय प्रतिवन्धात्मक व्यवस्थाहरु भने सरकारले यसअघि पनि लागु गरिसकेको छ । अहिले त्यसमा केही थप प्रतिबन्धहरु लगाइएको हो ।