लिदी पहिरोका विस्थापितलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिँदै
Sunday, August 23rd, 2020, 7:02 pm
amit
सिन्धुपाल्चोक, ७ भदौ । सिन्धुपाल्चोकको जुगल–२, लिदी पहिरोका विस्थापितलाई स्थानान्तरण कार्य सुरु गरिएको छ । विस्थापितलाई जुगल–१ को बाँसखर्कमा सार्ने तयारी गरिएको जिल्ला समन्वय समितिका अध्यक्ष कृष्णगोपाल तामाङले जानकारी दिएका छन् ।
गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठका अनुसार पहिलो चरणमा सबैलाई टेन्टमा राख्ने गरी तयारी भइरहेकोे र सबै परिवारलाई टेन्टमा राख्ने गरी आवश्यक सामग्री ढुवानी गरि सकेको छ ।
आइतबार विहानैबाट नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीको टोली मिलेर टेन्ट जडान तथा सुरक्षाको प्रबन्ध मिलाउने काम सुरु गरेको भने बस्ती स्थानान्तरणका लागि विभिन्न जिम्मेवारी छुट्याइएको समेत उनले बताएका छन् ।
यसैगरी जिल्ला विपद् व्यवस्थापन समितिले आवश्यक टेन्ट उपलब्ध गराउने निर्णयबमोजिम ९८ थान टेन्ट गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । गाउँपालिका कार्यालयले बाँसखर्कमा रहेको खुला क्षेत्रमा जग्गा सम्याउने, शिविर व्यवस्थापन गर्ने तथा सडक पूर्वाधारको व्यवस्थापन गर्नेछ ।
त्यस्तै जिल्ला आयोजना कार्यान्वयन एकाइले आवास व्यवस्थापन र डिभिजन खानेपानी कार्यालयले खानेपानीको व्यवस्थापन गर्ने छ भने जिल्ला स्वास्थ्य कार्यालयले स्वास्थ्य सेवाको प्रबन्ध मिलाउने बताइएको छ । रेडक्रसले शौचालय व्यवस्थापनको जिम्मा लिएको छ ।