७३ दिनभित्र कोरोनाको खोप भारतमै बन्ने भारतीय मिडियाले फैलाएको अफवाह : सिरम इन्स्टिच्युट अफ इन्डिया
Monday, August 24th, 2020, 3:35 pm
amit
एजेन्सी, ८ भदौ । भारतीय मिडियाले ७३ दिनभित्र कोरोनाविरुद्धको औषधी भारतमै बन्ने खबर सार्वजनिक गरेपछि मिडियाले गलत सूचना फैलाएको भारतको औषधी कम्पनी सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआइआइ) ले बताएको छ ।
एसआइआइले एक विज्ञप्ति जारी गर्दै कम्पनीले ७३ दिनभित्र खोप उत्पादन हुने भनी मिडियाहरुमा फैलाइएको खबर झुठो, फर्जी र अनुमानका भरमा लेखिएका समाचारमा कुनै सत्यता नरहेको उल्लेख गरेको छ ।
मिडियाले झुठो खबर फैलाएको भन्दै एसआइआइले ट्वीटमार्फत जानकारी दिएको छ भने वज्ञप्तिमा एसआइआइले लेखेको छ, हामीलाई सरकारले कोरोनाविरुद्धको भ्याक्सिन उत्पादन गर्न अनुमति दिएको छ, तर सफलतापूर्वक परीक्षण गरेपछि मात्र यो भ्याक्सिन बजारमा आउनेछ, बजारमा पठाउनुअघि सबै मापदण्ड पूरा गर्नुपर्ने हुन्छ ।
एसआइआइले विज्ञप्तिमा उल्लेख गरेअनुसार अहिलेसम्म भ्याक्सिनबाट खतराबिनै संक्रमितको उपचार हुन्छ भन्ने कुनै ग्यारेन्टी नभएको र भ्याक्सिन कहिले आउने भन्नेबारे कम्पनीले नै आधिकारिक रुपमा पुष्टि गर्नेछ ।
त्यस्तै यसअघि कैयौं भारतीय मिडियाहरुले एसआइआइले ७३ दिनभित्र कोरोनाविरुद्धको भ्याक्सिन ल्याउने खबर प्रकाशन एवम् प्रसारण गरेका थिए ।