काठमाण्डौ उपत्यकाको निषेधाज्ञा एक साता थप गरियो
Wednesday, August 26th, 2020, 11:47 am
amit
काठमाण्डौ, १० भदौ । काठमाडौं उपत्यकामा भदौ ३ गतेदेखि जारी गरिएको निषेधाज्ञा एक हप्ता थप गरिएको छ ।
काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीले उपत्यकाका सुरक्षा निकायका प्रमुख, नगरपालिकाका मेयर र जनस्वास्थ्य कार्यालयका अधिकारीसंग गरेको छलफलले निषेधाज्ञा अवधि लम्ब्याउने निर्णय गरेका हुन् ।
गत भदौ ३ गते मध्यरातिबाट लागू हुने गरी सुरु भएको निषेधाज्ञा बुधबार सकिँदै छ भने उपत्यकामा संक्रमण दर बढ्दो अवस्थामा रहेकाले निषेधाज्ञा थप गरिएको स्रोतले जानकरी दिएको छ ।
निषेधाज्ञाको अवधिमा औषधि, खाद्यवस्तु र अत्यावश्यकीय वस्तु खरिदको कामबाहेक बाहिर निस्कन पाइने छैन भने घर बाहिर निस्किँदा अनिवार्य मास्कको प्रयोग गर्नुपर्नेछ ।
अत्यावश्यकीय सामाग्री ढुवानी, स्वास्थ्यकर्मी र सुरक्षा निकायबाहेक अन्य सवारी सञ्चालनमा रोक लगाइएको छ । नियमित सेवा प्रदान गर्नुपर्ने कार्यालय जाने कर्मचारी विहान ९ बजेदेखि साढे १० बजेसम्म र बेलुका ३ देखि साढे ५ बजेसम्म आउजाउ गर्न सक्नेछन् ।
यसैगरी होटल, रेष्टुरेन्ट, फुटपाथ पसलसमेत बन्द हुनेछने र बैंक लगायतका निकायले न्यूनतम कर्मचारी राखेर स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी सेवा दिन सक्नेछन् ।