अन्ततः मेसीले बार्सिलोना छोड्ने निर्णय गरे
Wednesday, August 26th, 2020, 1:53 pm
amit
एजेन्सी, १० भदौ । फुटबल जगतका विश्व चर्चित अर्जेन्टिनाका स्टार स्ट्राइकर लियोनल मेसीले स्पेनिश फुटबल क्लब बार्सिलोना अन्ततः छोड्ने निश्चित भएको छ । क्लबले मंगलबार यसबारे पुष्टि गर्दै मेसीले प्रक्रिया अघि बढाउन क्लबको व्यवस्थापनलाई जानकारी दिएको छ ।
बार्सिलोनाको अहिलेसम्मको सबैभन्दा ठूलो हारको ११ दिन पछि मेसीले यो घोषणा गरेको हो । गत १५ अगस्टमा च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा जर्मनीको क्लब बायर्न म्यूनिखसंग बार्सिलोनाले ८–२ ले हारको सामना गरेको थियो ।
मेसीले बार्सिलोना क्लबसँग सन् २०१७ मा सम्झौता बढाएका थिए भने सन् २०२१ म सो सम्झौता समाप्त हुँदै छ ।
मेसीले हालसम्म बार्सिलोनाका लागि ६ सय ३४ गोल गरेका छन् ।
मेसीले बार्सिलोनाका लागि १८ वर्षको उमेरमा १६ अक्टोबर सन् २००४ मा डेब्यू गरेका थिए । त्यतिबेलादेखि अहिलेसम्म उनले टीमका लागि ७ सय ३१ म्याचमा ६ सय ३४ गोल हाने र २ सय ७६ वटा गोल हान्न सहयोग गरे । यतिबेला उनले टीमलाई १० ला लिगा र ४ यूइएफए च्याम्पिनन्स लीगसमेत ३४ उपाधि जिताएका छन् ।
मेसीलाई खरिद गर्न यी चारवटा क्लबबीच कसरत चलिरहेको छ ।
म्यान्चेस्टर सिटी : यस क्लबका कोच गुआर्डिओलाले बार्सिलोनालाई कोचिङ दिइसकेका छन् भने यस्तोमा उनी मेसीलाई क्लबमा आबद्ध गरेर आफ्नो क्लबलाई घरेलू र युरोपियन च्याम्पियन बनाउन चाहन्छ ।
इन्टर मिलान : इटालियन क्लब इन्टर मिलान मेसीलाई अनुबन्ध गरेर प्रतिद्वन्द्वी खेलाडी रोनाल्डो जो हाल इटलीको क्लब युवेन्टसबाट खेलिरहेका छन् फेरि यी दुईलाई पुनः प्रतिद्वन्द्वीको रुपमा मैदानमा उतार्न चाहन्छ । जेविय जानेटी जो मेसीका अर्जेन्टिनाका पुराना साथी हाल यस क्लबको बोर्डका भाइस प्रेसिडेन्ट हुन् ।
नेवेल्स ओल्य बोयज : अर्जेन्टिनाको यो क्लब मेसीको सुरुवाती क्लब हो । उनी ६ वर्षको उमेरदेखि यो क्लबसँग जोडिएका थिए र ५ सय गोल गरेका थिए ।
अल–साद : यो कतारको क्लब हो जहाँ म्यानेजर बार्सिलोनाका पूर्व कप्तान जावी छन् । कतारमा विश्वकप पनि आयोजना हुँदैछ भने यो अवस्थामा क्लबले मेसीलाई अनुबन्ध गरेर माहौल बनाउन चाहन्छ ।