आफ्नो स्वास्थ्यका कारण सरकारको काममा असर नपरोस् भन्दै जापानका प्रधानमन्त्रीले राजीनामा दिने
Friday, August 28th, 2020, 12:32 pm
amit
एजेन्सी, १२ भदौ । जापानका प्रधानमन्त्री सिन्जो आबेले आफ्नो स्वास्थ्य स्थितिको कारण देखाउँदै पदावधि सकिनु एक वर्षअगावै राजीनामा दिने भएका छन् ।
६५ वर्षीय प्रधानमन्त्री आबेले आज साँझ राष्ट्रका नाममा सम्बोधन गर्दैछन् र उक्त सम्बोधनबाट उनले राजीनामा दिन लागेका जापानको सरकारी टेलिभिजन एनएचकेले बताएको छ ।
आफ्नो स्वास्थ्यका कारण सरकारको काममा असर नपरोस् भनेर आबेले राजीनामा दिने निर्णय गरेको उनीनिकट स्रोतको भनाइ रहेको छ ।
यसैगरी पछिल्लो समय उनी लगातार दुई पटक अस्पताल उपचारका लागि गएपछि उनको स्वास्थ्यलाई लिएर विभिन्न अड्कलबाजी गरिएको छ । अस्पताल भर्ना हुनुअघि प्रधानमन्त्री आबेले रगत बान्ता गर्ने गरेको हल्ला चलेको थियो भने पछिल्लो समय उनी सार्वजनिक कार्यक्रममा सहभागी नभएकाले उनको स्वास्थ्यमा गम्भीर समस्या भएको अड्कल गरिएको थियो ।
लामो समयदेखि अल्सरेटिभ कोइलेइटिस रोगबाट पीडित आबेले यसअघि पनि सन् २००७ मा स्वास्थ्यका कारण प्रधानमन्त्री नियुक्त भएको वर्ष दिनमै राजीनामा दिएका थिए ।
आबे जापानमा सबैभन्दा लामो समय लगातार प्रधानमन्त्री बनेर किर्तिमान कायम गर्ने पहिलो व्यक्ति हुन् ।