रौतहटको गरुडा प्रहरी हिरासतमा मृत्यु प्रकरणबारे छानविन सुरु भएको छ : राष्ट्रिय मानवअधिकार आयोग
Friday, August 28th, 2020, 2:12 pm
amit
काठमाण्डौ, १२ भदौ । राष्ट्रिय मानवअधिकार आयोगले इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा रहेका थुनुवाको यातनाबाट मृत्यु घटनाबारे छानविन थालेको छ ।
बिहीबार बिहान गरुडा नगरपालिका ८ का विजयराम चमारको उपचारको क्रममा नेशनल मेडिकल कलेजमा मृत्यु भएको थियो । उनी सोही ठाउँमा निरञ्जन रामको हत्याको आशंकामा पक्राउ परेका थिए ।
हिरासतमा चरम यातना दिएपछि उनको मृत्यु भएको भन्ने जानकारी आएपछि आयोगको प्रदेश नम्बर २ कार्यालयले अनुसन्धान थालेको हो । सो क्रममा रामको स्वास्थ्य परीक्षण प्रतिवेदन र पोष्टमार्टम उपलब्ध गराउन जिल्ला प्रहरी कार्यालय रौतहट र त्रिवि शिक्षण अस्पताल फरेन्सिक विभागलाई पत्राचार गरिएको राष्ट्रिय मानवअधिकार आयोगले जनाएको छ ।
आयोग प्रवक्ता सचिव वेद भट्टराईद्वारा शुक्रबार जारी गरिएको विज्ञप्ति अनुसार प्रहरी हिरासतमा रहेको व्यक्तिको मृत्यु हुनु अत्यन्त दुःखद् रहेको र उनलाई हिरासतमा रहँदा यातना दिइएको भनिएको विषयमा आयोगबाट अनुसन्धान सुरू भएको छ ।
आयोगले अमानवीय र आपराधिक घटनाको सूक्ष्म र निष्पक्ष छानविन तथा अनुसन्धान गरी घटनाका दोषीलाई कानुनी दायरामा ल्याई कारबाही गर्न, पीडित परिवारलाई तत्कालै उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।