चितवनमा भदौ १९ गतेसम्म निषेधाज्ञा थप, बैंक ३ घण्टामात्र खुल्ने
Friday, August 28th, 2020, 5:38 pm
amit
चितवन, १२ भदौ । चितवन प्रशासनले कोरोना संक्रमण बढ्को भन्दै फेरि थप ७ दिनका लागि निषेधाज्ञा लम्ब्याएको छ । जिल्ला प्रशासन कार्यालयले यसअघि जारी गरेको निषेधाज्ञाको बिहीबार राति सकिने भएपछि फेरि एक साताका लागि थप गरिएको हो ।
कोरोना संक्रमणको जोखिम बढ्दै गएकाले मानिसहरुको आवतजावत र जमघटमा नियन्त्रण गर्न निषेधाज्ञालाई भदौ १९ गते राति १२ बजेसम्म निरन्तरता दिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताएका छन् ।
निषेधाज्ञाको अवधिमा विहान ५ देखि ८ बजे र बेलुका ६ देखि ८ बजेसम्म अत्यावश्यक खाद्य सामग्री किन्न नजिकको पसलमा पैदल हिँडेर जान मात्र पाइनेछ ।
लामो दूरीका मालबाहक ढुवानीका साधन, दमकल, एम्बुलेन्स, शववाहन, तरकारी, कृषि व्यवसायका लागि प्रयोग हुने सवारी साधन, खानेपानी, दूध, इन्धन, ढुवानीका साधन, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीको सवारी साधन सञ्चालन हुन पाउनेछन् ।
निषेधाज्ञाको समयमा ५० प्रतिशत कर्मचारी उपस्थित हुने गरी सरकारी कार्यालय खुला हुनेछन् भने विहान १० देखि दिउँसो १ बजेसम्म बैक तथा वित्तीय संस्था, मनि ट्रान्सफर र सहकारी संस्था खुला हुनेछन् ।
यसैगरी औधोगिक क्षेत्रको हकमा भने उद्योग परिसरभित्रै कामदार तथा कर्मचारीका लागि क्वारेन्टिनस्थलको व्यवस्था गरी उद्योग सञ्चालन गर्न पनि पाइनेछ । पशुपंक्षीको दाना, कषि तथा पशुजन्य उपज र कृषि औजार ओसारपसार, विद्युत, खानेपानी, टेलिफोन, इन्टरनेट सेवा जडान तथा मर्मतका लागि उपकरणसहितका सवारी साधन चल्न पनि पाउने जिल्ला प्रशासन कार्यालयले जनाएकोछ ।