मोरङमा दुई समूहबीच भडप हुँदा एकजनाको मृत्यु
Friday, August 28th, 2020, 5:59 pm
amit
मोरङ, १२ भदौ । मोरङको बेलबारी नगरपालिकामा दुई समूहबीच भएको झडपका क्रममा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शुक्रबार दिउँसो नगरपालिकाको वडा नम्बर ५, कसेनीस्थित लोहन्द्र पुलमा भएको ‘ग्याङ फाइट’मा ४० वर्षीय चन्द्रबहादुर राईको मृत्यु भएको हो ।
स्थानीय ३२ वर्षीय जितेन चौधरी, २५ वर्षीय दिनेश श्रेष्ठ, ३२ वर्षीय सन्तोष मगर र विक्रम राईको समूह र ४० वर्षीय चन्द्रकुमार राई, ४२ वर्षीय सईकुमार राई, ३२ वर्षीय समुन्द्र राई र १६ वर्षीय गौरव राईको समूहबीच झडप भएको मोरङ प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिएका छन् ।
प्रवक्ता राईका अनुसार दुवै समूहबीच बिहीबार बेलुका केही विषयमा विवाद भएको र सोही विवादपछि भएको दुश्मनीले दुई समूहबीच दिउँसो झडप भएको हो । तर विवादको विषय खुल्न बाँकी रहेको उनले बताएका छन् ।
विवादका क्रममा चौधरीको समूहबाट सुरुमा खुकुरी, बन्चरो जस्ता हतियार प्रयोग भएको र घटनापछि गम्भीर घाइते भएका चन्द्रबहादुर राईको बुढीगंगा गाँउपालिकास्थित विराट शिक्षण अस्पतालमा उपचारका क्रममा दिउँसो ३ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
उक्त घटनामा गम्भीर घाइते भएका सईकुमार, समुन्द्र र गौरवको सोही अस्पतालमा उपचार भइरहेको छ भने त्यसैगरि अर्को समूहका पनि चौधरीको बेलबारीस्थित नोबेल अस्पतालमा उपचार भइरहेको र उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै प्रहरीका अनुसार घटनासंगै फरार अवस्थामा रहेका दिनेश श्रेष्ठ, सन्तोष मगर र विक्रम राईको प्रहरीले खोजी गरिरहेको छ ।