कोरोना महामारीका कारण अष्ट्रेलियामा आर्थिक मन्दी सुरु, वृद्धिदर ७ प्रतिशतले घट्यो
Wednesday, September 2nd, 2020, 10:47 am
amit
एजेन्सी, भदौ १७ । अष्ट्रेलियाको कोरोना महामारीका कारण अर्थतन्त्रमा ६० वर्षयताकै ठूलो गिरावट देखिएको छ।
सन् १९५९ मा त्यहाँको अर्थव्यवस्था सबैभन्दा कमजोर बनेको थियो भने जारी कोरोना महामारीका कारण त्यहाँ फेरि मन्दीको अवस्था श्रृजना भएको छ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा अष्ट्रेलियाका अर्थव्यवस्थामा ७ प्रतिशतका संकुचन देखिएको छ। पहिलो त्रैमासमा यस्तो संकुचन ०.३ प्रतिशतमात्रै थियो।
लगातार दुई त्रैमाससम्म अर्थव्यवस्थामा संकुचन देखिए त्यसलाई आर्थिक मन्दीका रुपमा बुझिन्छ।
सन् २००८ मा देखिएको विश्वव्यापी आर्थिक मन्दीमा पनि अष्ट्रेलियाको अर्थव्यवस्था जोगिएको थियो। त्यतिखेर चीनमा अस्ट्रेलियाको प्राकृतिक संशाधन बिक्री भएकाले अर्थव्यवस्थामा खासै असर परेको थिएन।
यस वर्षको सुरुमै त्यहाँका जंगल डढेलोले सखाप पारेको थियो। त्यसलगत्तै सुरु भएको आर्थिक मन्दीले अर्थव्यवस्थामा नराम्रो असर पुर्याएको छ।
महामारी नियन्त्रण गर्न लगाइएको लकडाउनका कारण पूरै देशको व्यवसायिक कारोबारमा असर परेको छ। अर्थव्यवस्थाको अवस्था खराब भएको छ र केन्द्रीय बैंकले चालेका कदमहरु खासै प्रभावकारी देखिएका छैनन्। वस्तु तथा सेवा खरिदमा मानिसहरुले निकै कम खर्च गर्दा अर्थतन्त्र संकुचित भएको छ। बीबीसीमा उल्लेख गरे अनुसार हालको आर्थिक संकुचन ६१ वर्षयताकै सबैभन्दा खराब भएको छ।
यसअघि अस्ट्रेलियामा सन् १९९० मा आर्थिक मन्दी छाएको थियो भने सो मन्दी सन् १९९१ सम्म कायम थियो।