काठमाण्डौं उपत्यकामा तेस्रो चरणको निषेधाज्ञाको अवधिमा के गर्न पाइन्छ, के गर्न पाइँदैन ?
Wednesday, September 2nd, 2020, 6:39 pm amit
काठमाण्डौ, १७ भदौ । काठमाण्डौं उपत्यकाका तीन जिल्लामा निषेधाज्ञाको अवधि भदौ २४ गतेसम्म थप गरिएको छ भने तीनै जिल्लाका जिल्ला प्रशासनले जारी गरेको आदेशमा निषेधाज्ञा केही सहज बनाउने निर्णय गरिएको छ।
जिल्ला प्रशासन कार्यालयले काठमाण्डौका अनुसार तीन जिल्लाका सिडिओहरुको सम्पन्न बैठकले आज मध्यरातिदेखि जारी निषेधाज्ञालाई यसअघि भन्दा केही खुकुलो बनाउने निर्णय गरेको छ। उपत्यकामा कोरोना संक्रमणको जाखिम कम नभएको भन्दै सिडिओको बैठकले आज राति १२ बजेदेखि पुनः एक हप्ता निषेधाज्ञा बढाउने निर्णय गरेको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिएकी छिन्।
तीनै जिल्ला प्रशासनले बुधबार जारी गरेको आदेशमा ‘औषधि, खाद्यवस्तु र अत्यावश्यकीय वस्तु खरिदको कामका लागि बाहेक अन्य काममा बाहिर निस्कन पाइने छैन भने जिल्लाभर कुनै स्थानबाट राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल गर्नमा रोक लगाइएको छ । बाहिर निस्किँदा मास्क अनिवार्य लगाउनुपर्नेछ ।’
काठमाण्डौ जिल्ला प्रशासन कार्यालयका प्रमुख दाहालका अनुसार यसपालि अत्यावश्यक वस्तु तथा सेवालाई खुकुलो पारिएको छ। जसअनुसार अब खाद्यान्न, तरकारी, फलफूललगायतका पसललाई बिहान ११ बजेसम्म खोल्न दिइने छ। यसअघि बिहान ९ बजेसम्म मात्र दिइएको थियो।
यस्तै, निर्माणसामग्री सम्बन्धी सबै पसललाई दिउँसो २ देखि राति ९ बजेसम्म खोल्न दिने र निर्माण सामग्री ढुवानी गर्ने सबै साधनहरूलाई काठमाडौं प्रवेश गर्न दिने निर्णय गरेको दाहालले बताएका छन्। यसअघि भने निर्माण सामग्रीका सवारीसाधन राजधानी प्रवेश गर्न दिइएको थिएन।
यसैगरी, अनलाइन कक्षा सञ्चालनका लागि अनुमति दिइएको भएतापनि यी सबैमा सामाजिक दूरी र स्वास्थ्य मन्त्रालयको प्रोटोकल पालना गर्नुपर्ने छ।
अब स्वाब परीक्षण गर्न दिएर होम क्वारेनटाइनमै बस्ने नियम कडाइसाथ लागू गरिएको र स्वाब दिनेहरूलाई घरमै निगरानीमा राखिने दाहालले बताएका छन्।
दाहालका अनुसार काठमाडौं उपत्यकामा कोरोना संक्रमण नघटेपछि जारी निषेधाज्ञालाई निरन्तरता दिनुपरेको हो।
यसअघि सरोकारवाला सबै पक्षसँग छलफल गरेर प्रशासनले गृह मन्त्रालयमा निषेधाज्ञासम्बन्धी राय पठाएको थियो। गृहले राय अनुमोदन गरेपछि तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी निषेधाज्ञा निर्णयमा सामेल भएका थिए।