मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एक गम्भीर घाइते
Thursday, September 3rd, 2020, 12:39 pm
amit
सिरहा, १८ भदौ । सिरहामा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुवै मोटरसाइकल २ जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। चोहर्वा सडक खण्डअन्तर्गत सिरहा नगरपालिका–११ भलुवाहीस्थित सडकमा गएराति दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुवै मोटरसाइकल चालकको मृत्यु भएको छ।
प्रहरीका अनुसार सदरमुकाम सिरहाबाट चोहर्वातर्फ आउँदै गरेको स४प ४६१० र चोहर्वाबाट सिरहातर्फ जाँदै गरेको स४प ७९२१ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दुबै चालकको मृत्यु भएको हो।
मृत्यु हुनेमा सिरहाको धनगढीमाई नगरपालिका १० निवासी ५१ वर्षीय दीपककुमार पंजियार र सिरहा नगरपालिका ९ गुलरीया निवासी ३५ वर्षीय सिल्टु ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी गम्भीर घाइते पंजियारको जिल्ला अस्पताल सिरहामा उपचारको क्रममा र ठाकुरको उपचारका लागि लहानतर्फ लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको छ।
सोही दुर्घटनामा परी गम्भीर घाइते भएका सिरहा नगरपालिका ९ गुलरीया निवासी ३५ वर्षीय जितेन्द्र महरा भन्ने शिवकुमार महरोको भुमिजा अस्पताल लहानमा उपचार भइरहेको प्रहरीले बताएको छ।