लेनदेनको विवादकै कारण पुजारीको हत्या भएको प्रहरीको खुलासा
Thursday, September 3rd, 2020, 6:20 pm
amit
रौतहट, १८ भदौ । रौतहटको माधवनारायण नगरपालिका, खेसरहिया गाउँछेउको हनुमान मन्दिरका पुजारी श्रीराम साहको हत्या लेनदेनको विवादकै कारण भएको तथ्य प्रकाशमा आएको छ । एकजना ऋणीसँग ब्याजको विषयमा विवाद हुँदा पुजारी साहको हत्या भएको प्रदेश २ प्रहरी कार्यालयले खुलासा गरेको हो।
गत भदौ ३ गते माधवनारायण नगरपालिका–२ खेसरहिया चोकस्थित हनुमान मन्दिरका ६५ वर्षीय पुजारी श्रीराम साहको कन्चटमा गोली हानेर हत्या गरिएको थियो । हत्याको आरोपमा दुईजना अभियुक्त पक्राउ परेपछि हत्याको मुलकारण खुलासा भएको हो।
अभियुक्त मध्येका राम नरेश पटेलका बुवाले पुजारीसँग व्याजमा लिएको रकम तिर्ने क्रममा व्याजकाबारेमा विवाद भएको प्रहरीको भनाइ छ।
सोही विषयलाई लिएर नरेश भन्ने राम नरेश राउत पटेल र बाल कुमार पटेललगायतका व्यक्तिले पुजारीको हत्या गरेको २ नं। प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अंशु कुमार सिंहले बताएका छन्।
यसअघि पनि विभिन्न विषयमा पुजारी र राम नरेश पटेल लगायतका मानिससँग पटक पटक विवाद भएको प्रहरीको भनाइ छ । हत्यामा संलग्न दुईजना पक्राउ परिसकेका छन् भने अन्यको खोजी भइरहेको प्रदेश २ प्रहरी प्रमुख डिआईजी धिरजप्रताप सिंहले जानकारी दिएका छन्।