मछिन्द्रनाथको रथ तान्ने जात्रा भदौ भित्र सम्पन्न हुने
Friday, September 4th, 2020, 11:31 am
amit
काठमाण्डौ, १९ भदौ । रातो मछिन्द्रनाथको रथ तान्ने जात्रा यही भदौ महिनाभित्र सम्पन्न गर्ने निर्णय गरिएको छ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले दिएको जानकारी अनुसार हिजो बसेको सरोकारवालाको बैठकले मलमास सुरु हुनु अघि नै जात्रा सम्पन्न गर्ने निर्णय गरेको र ललितपुरका दुई सांसदसहित, स्थानीय जनप्रतिनिधि, स्थानीय प्रशासनका प्रतिनिधि, गुठी संस्थान, ज्यापु समाजका प्रतिनिधिसहित बसेको बैठकले आज क्षमा पूजा गर्ने निर्णय गरेको हो।
कर्फ्युका बीच रथमै गरिने क्षमा पूजामा २५ जना मात्रै सहभागी हुनेछन् भने भोलि महाबली पूजा गर्ने र पर्सि २१ गते प्रतिकात्मक रुपमा रथलाई थोरै तानिने सहमति भएको महर्जनले बताएका छन्।
यसैगरी भदौ २२ गते ज्योतिषीहरुले मछिन्द्रनाथको मूर्तीलाई रथबाट अवतरण गराउने साइत जुराउनेछ भने २६ गतेको साइत निस्कने अनुमान गरिएको र सोही दिन मच्छिन्द्रनाथलाई रथबाट अवतरण गराइ बुङ्मति लगिने महर्जनले बताएका छन्।
हिजो निषेधाज्ञालाई अवज्ञा गर्दै रथ तान्ने क्रममा स्थानिय र प्रहरीबीच झडप भएको थियो भने ललितपुरमा रहेका १९ वटा जातीय खलः पुचःका तर्फबाट गठित बुगधः जात्रा व्यवस्थापन कार्यदलले अनियन्त्रित हुलले अव्यवस्थित रुपमा रथ तान्ने प्रयास गरेको भन्दै खेद प्रकट समेत गरेको छ।