मोरङमा थप दुई जना व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु
Saturday, September 5th, 2020, 1:26 pm
amit
मोरङ, २० भदौ । मोरङमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।
मृत्यु हुनेमा विराटनगर ४ निवासी ६४ वर्षीय महिला र कदमाहाका ५२ वर्षीय पुरुषको रहेको कोसी अस्पतालका प्रवक्ता डा. लक्ष्मी नारायण यादवले जानकारी दिएका छन्।
डा. यादवका अनुसार विराटनगरकी महिलाको कोसी अस्पतालको आइसोलेसनमा उपचारका क्रममा शुक्रबार बेलुकी साढे सात बजे मृत्यु भएको थियो भने शनिबार बिहान भने उनको रिपोर्ट पोजेटिभ आएको हो।
उनलाई शुक्रबार दिउँसै कोसी अस्पताल भर्ना गरिएको थियो तर भर्ना गर्दा नै उनमा पखला लाग्नुका साथै सास फेर्न गाह्रो रहेको र अवस्था गम्भीर रहेको डा. यादवले जनाएका छन्।
त्यस्तै कोभिड १९ अस्पतालमा उपचारका क्रममा कदमाहाका पुरुषको शनिबार बिहान साढे ११ बजे मृत्यु भएको डा. यादवले बताएका छन्।
उनका अनुसार ती पुरुषलाई कोसी अस्पतालको आइसोलेसनबाट कोभिड १९ अस्पताल रिफर गरिएको थियो भने उनको मृत्यु भएको भर्खर मात्र खबर आएको छ।
ती पुरुषलाई पनि शु्क्रबार नै कोसी अस्पताल ल्याइएको थियो। उनलाई ज्वरो र सास फेर्न गाह्रो भएपछि आइसोलेसनमा भर्ना गरेर कोरोना परीक्षण गर्न स्वाब संकलन गरिएको थियो।
तर बेलुकी रिपोर्ट पोजेटिभ आएपछि उनलाई कोभिड १९ अस्पताल रिफर गरिएको डा. यादवले बताएका छन्।
अहिले मृतकहरुको शव व्यवस्थापनको लागि नेपाली सेनाको टोलीलाई खबर गरिएको अस्पतालले जनाएका छ।