काठमाण्डौका प्रजिअ दाहालले भने, ‘उपत्यकाको नाकामा सेना परिचालन गर्नुपर्छ’
Sunday, September 6th, 2020, 3:09 pm
amit
काठमाण्डौ, २१ भदौ । जिल्ला प्रशासन कार्यालय काठमाण्डौका प्रमुख जनकराज दाहालले काठमाडौं उपत्यका प्रवेश गर्ने नाकामा नेपाली सेना परिचालन गर्नुपर्ने बताएका छन्।
प्रतिनिधिसभाको शिक्षा समिति अन्तर्गतको उपसमितिमा आइतबार भएको बैठकमा प्रजिअ दाहालले उपत्यका प्रवेश गर्ने नाका ठप्प गरेमा भोकमरी हुनेछ र जति कडाई गरे पनि दिनमा दुई हजार मान्छे आइरहेका हुनाले नाका ठप्प पार्न नसकिने बताएका छन्।
उनका अनुसार सो व्यवस्थापनका लागि उपत्यका प्रवेश गर्ने नाकामा सेना खटाउनुपर्दछ।
‘अहिले नेपाल प्रहरी खटाइएको छ, उसले गर्न सकेन भन्ने होइन । तर सडकमा लडेको जड्याहालाई उठाउनेदेखि सुन चोरसम्म पक्राउ गर्नुपर्ने जिम्मा छ’ उनले भने, ‘नाकाको जिम्मा नेपाली सेनालाई दिऔं भनेका हौं।’
यसबारे प्रस्ताव कोभिड–१९ संकट व्यवस्थापन सेन्टरमा समेत पठाएपनि कुनै निर्णय नभएको उनले बताएका छन्।
चार महिनाको लकडाउन र पछिल्लो पटक तीन साताको निषेधाज्ञाका कारण मानिसहरुले खान नपाएको गुनासो आउन थालेको हुनाले उपत्यकामा कडाई गर्नुपर्ने र सहजीकरण गर्दै जानुपर्ने अप्ठ्यारो रहेको उनले बताएका छन्।
उनका अनुसार अहिले पनि जनस्वास्थ्यका मापदण्ड सीमित मानिसहरुले मात्र पालना गर्ने गरेको हुनाले यसमा सचेत हुनुपर्नेछ भने सरकारका निकायहरुले आफ्नो मातहतमा पर्ने क्षेत्रको अनुगमन गर्नुपर्नेछ।