ब्राजिललाई उछिन्दै भारत बन्यो दोश्रो धेरै कोरोना प्रभावित देश
Monday, September 7th, 2020, 1:11 pm
amit
काठमाण्डौ, २२ भदौ । विश्वमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुने मानिसको संख्याको आधारमा ब्राजिललाई पछि पार्दै भारत विश्वको दोस्रो सबैभन्दा प्रभावित मुलुक बनेको छ।
भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका ९० हजार ८०२ नयाँ संक्रमित थपिएका छन् भने योसंगै हालसम्म भारतमा कोरोना संक्रमितको संख्या ४२ लाख चार हजार ६१४ पुगेको छ।
त्यस्तै अहिलेसम्म ब्राजिलमा कोरोना भाइरसका ४१ लाख ४० हजार नाघेको ब्राजिलको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
यसैगरी भारतमा पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण एक हजार १६ जनाको मृत्यु भएको हो । योसंगै हालसम्म भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या पनि ७१ हजार ६४२ पुगेको छ । मृतक संख्याको आधारमा भने भारत तेस्रो स्थानमा नै छ।
ब्राजिलमा अहिलेसम्म १ लाख २६ हजार ६५० कोरोना संक्रमित मृत्यु भइसकेको छ ।
अहिलेसम्म भारतमा कोरोना भाइरसका ३२ लाख ५० हजारभन्दा धेरै संक्रमित निको वा डिस्चार्ज भइसकेका छन्। भारतमा अहिले आठ लाख ८२ हजारभन्दा धेरै संक्रमित निको हुन बाँकी छन्।