सिमानामा भारतीयको समूहबाट कुटिएका एक नेपालीको मृत्यु, एक जना पक्राउ
Monday, September 7th, 2020, 4:10 pm
amit
सप्तरी, २२ भदौ । नेपाल–भारत सीमा क्षेत्रमा भारतीय नागरिकको समूहले कुटपिट गर्दा एकजना नेपाली नागरिकको मृत्यु भएको छ।
सप्तरीको डाक्नेश्री नगरपालिका वडानम्बर ६ औरही निवासी ६५ वर्षीय रामदेव यादवलाई भारतीय नागरिकले गत भदौ ६ गते कुटपिट गरेको थियो।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार उक्त कुटपिटमा परी घाइते भएका यादवको उपचारको क्रममा आइतबार राति बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो।
स्थानीयका अनुसार यादवले सीमा नजिकैको आफ्नो जग्गामा लगाएको धानबालीमा भारत बिहारको मधुवनी जिल्ला लौकहीका ७/८ जना युवक भैंसी चराउन आएका थिए भने धानबालीमै भैंसी चराइरहेको देखेर यादव र उनका छोरा ललनले गाली गर्दा भारतीय समूहले लाठी तथा बाँसको भाटाले कुटपिट गरेको स्थानीयको भनाइ छ ।
मृतक यादवका छोरा ललनका अनुसार गम्भीर घाइते भएका यादवलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइए पनि यहाँबाट विराटनगर रेफर गरिएको भएतापनि ५ दिनसम्म विराटनगरका सबै अस्पताल घुमाउँदासमेत कुनै अस्पतालले भर्ना लिएन।
विराटनगरका अस्पतालले भर्ना नलिएपछि उनलाई धरान लगेर अस्पतालले भर्ना गरिएतापनि उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
कुटपिटमा संलग्नमध्ये एकजना भारतीयलाई नेपालतर्फ नै भैंसी चराउन आएको अवस्थामा स्थानीयले पक्राउ गरी प्रहरीको जिम्मा लगाएका छन्।
प्रहरीका अनुार पक्राउ परेका भारतको लौकहीका १९ वर्षीय प्रदीपकुमार यादवलाई इलाका प्रहरी कार्यालय कल्याणपुरको नियन्त्रणमा राखेर कुटपिट शीर्षकमा मुद्दा चलाइए पनि अब ज्यान मुद्दा शीर्षकमा मुद्दा चलाइने छ।