नेपाली चलचित्रका लेखक तथा निर्देशक छेतन गुरुङको ४२ बर्षका उमेरमा निधन
Wednesday, September 9th, 2020, 11:57 am
amit
काठमाण्डौ, २४ भदौ । नेपाली चलचित्रका लेखक तथा निर्देशक छेतन गुरुङको ४२ बर्षको उमेरमा निधन भएको छ । राजधानीको महाराजगञ्ज स्थित मेट्रो अस्पतालमा उपचारको क्रममा गुरुङको बुधबार बिहान २ बजे निधन भएको अभिनेता प्रदीप खड्काले जानकारी दिएका छन्।
लिभर समस्याका बिरामी भएका गुरुङ अचानक बिरामी भएपछि सोमबार अस्पताल भर्ना गरिएको थियो।
सन् २०१४ मा दिनेश राउत निर्देशित चलचित्र नोभेम्बर रेनको कथा, पटकथा र संवाद लेखेर उनले नेपाली चलचित्र क्षेत्रमा डेब्यु गरेका थिए भने सन् २०१५ मा चलचित्र आभाषका लागि गीत लेख्नुका साथै एक गीतमा संगीत समेत दिएका छन्।
एनले नेपाली चलचित्र क्लासिक, डायरी र ए मेरो हजुर २ लेखेका थिए भने डमरुको डण्डिबियोको कथा लेखन तथा निर्देशन समेत गरेका थिए।
यसैगरी उनले लेखन तथा निर्देशन गरेको अर्को चलचित्र प्रेमगीत ३ प्रदर्शनको लागि तयारी अवस्थामा छ । पछिल्लो समय उनी हुतुतु नामक चलचित्रको लेखनमा व्यस्त थिए।
उनले डेब्यु गरेको चलचित्र नोभेम्बर रेनबाट नै उत्कृष्ट लेखकका रुपमा आफुलाई उभ्याउन सफल थिए । उनले सोही चलचित्रबाट २०७१ सालको एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट लेखकको अवार्ड समेत प्राप्त गरेका थिए।