गरुडा प्रहरी हिरासतमा युवकको मृत्यु प्रकरणमा रौतहटका एसपीसहित ६ प्रहरीविरुद्ध मुद्दा दर्ता
Wednesday, September 9th, 2020, 5:23 pm
amit
रौतहट, २४ भदौ । रौतहटको गरुडा प्रहरी हिरासतमा रहेका बेला विजयरामको मृत्यु भएको घटनामा पीडित परिवारले जिल्ला प्रहरी प्रमुखसहित ६ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ।
इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा मृत्यु भएका गरुडा नगरपालिका–८ जिंगडियाका १७ वर्षीय युवक विजयरामका बाबु पनिलाल महराले यातना र ज्यानसम्बन्धी कसूरमा अनुसन्धान गर्न रौतहटका प्रहरी प्रमुख एसपी रविराज खड्कासहित ६ जनाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयमा मुद्दा दर्ता गरेका हुन्।
एसपी खड्कासहित तत्कालिन इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक (डीएसपी) ज्ञान कुमार महतो, प्रहरी निरीक्षक (इन्सपेक्टर) नविन कुमार सिंह, प्रहरी नायब निरीक्षक (सई) विरेन्द्र यादव र हवल्दारद्धय मुन्ना सिंह र फिरोज धुनियाविरुद्ध मुद्दा दर्ता भएको हो।
एसपी खड्कालाई १८ भदौमा रौतहट प्रहरी प्रमुखको जिम्मेवारीबाट खोसेर प्रहरी प्रधान कार्यालय नक्साल तानिएको छ । खड्को ठाउँमा एसपी सिद्धिविक्रम शाहलाई पठाइएको छ।
दोषीलाई कारबाहीको माग गर्दै गरुडामा निरन्तर प्रदर्शनसमेत भइरहेको छ ।