यातायात व्यवसायीको घोषणा : असोज १ देखि सबै सार्वजनिक सवारी चलाउछौँ
Wednesday, September 9th, 2020, 6:01 pm
amit
काठमाण्डौ, २४ भदौ । यातायात व्यवसायीहरुले आगामी असोज १ गतेदेखि सबै सार्वजनिक सवारी साधन सञ्चालन गर्ने घोषणा गरेका छन्। सरकारले कोरोना महामारीको जोखिम नियन्त्रणका लागि निषेधाज्ञा लागू गरेको बेला यातायात व्यवसायीले यस्तो घोषणा गरेका हुन्।
यातायात व्यवसायी, यातायात व्यवस्था विभाग र तीन वटा मजदुर संगठनको बुधबार बसेको संयूक्त बैठकले व्यवसायी र मजदुर संगठनले यातायात खुलाउन सहजीकरण नगरे विश्वकर्मा पूजाको दिन पारेर असोज १ देखि लामो तथा छोटो दूरीका यातायात चलाउने घोषणा गरेका हुन्।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भिमज्वाला राईले सरकारलाई सार्वजनिक सवारी संचालनका लागि विकल्प दिन भन्दै सरकारले यातायात संचालनका लागि सहजीकरण नगरे आफूहरुले यातायात चलाउने जानकारी विभागलाई गराइएको बताएका छन्।
यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालका अनुसार यो निर्णय आफू मातहतबाट नभई मन्त्रिपरिषदबाटै हुनुपर्नेछ र कोरोना संक्रमण कम भएका ठाउँमा यातायात सञ्चालन गर्न सकिने सुझाव दिइएको हो।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले यातायात सञ्चालन गर्दा कोरोनाविरुद्ध सम्पूर्ण सुरक्षाका उपाय अवलम्वन गरी सार्वजनिक सवारीसाधन संचालन गर्ने बताएका छन्।
उनका अनुसार सुरक्षाका लागि अपनाउनु पर्ने आवश्यक मापदण्डको प्रोटोकल समेत तयार गरेर विभागमा बुझाइएको छ।
यसैगरी गत चैत ११ गतेदेखि लकडाउन सुरु भएपछि साढे ५ महिनासम्म लामो दूरीका सवारीसाधन चल्न नसक्दा आफूहरु डिप्रेसनको स्थितिमा पुगेको व्यवसायी बताउँछन्।
यसबीचमा मापदण्ड तोकेर केही दिन छोटो दूरीका सवारीसाधन सञ्चालनमा आएका थिए।