भक्तपुरमा घरभित्र शव प्रकरण : सुतेकै ठाउँमा आमा र छोराको हत्यापछि बुवाले आत्महत्या गरेको आशंका
Saturday, September 12th, 2020, 1:30 pm
amit
भक्तपुर, २७ भदौ । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–६, कुन्डोलमा हिजो घरभित्र एकै परिवारका तीन जना (श्रीमान्, श्रीमती र छोरा)को शव भेटिएको प्रकरणमा श्रीमती र छोराको हत्यापछि ३६ वर्षीय सुदिप अधिकारीले आत्महत्या गरेको हुनसक्ने देखिएको प्रहरीले जनाएको छ।
श्रीमती र छोराको सुतेकै अवस्थामा धारिलो हतियार प्रयोग गरी हत्या गरेर सुदिपले विष सेवन गरी आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुसन्धानले देखाएको हो।
अधिकारीका भाइ सुनीलले शुक्रबार साँझ सवा ५ बजे प्रहरीलाई खबर गरेपछि भक्तपुर प्रहरी परिसर र महानगरीय अपराध महाशाखाको टोली अपराधस्थलमा पुगेको थियो। त्यसक्रममा सुदिपसहित उनकी श्रीमती ३४ वर्षीया सम्झना र १५ वर्षीय छोरा सुशान्तको शव भेटिएको थियो।
प्रहरीले त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जका फरेन्सिक विज्ञसहितको टोलीलाई पनि छानविनका लागि घटनास्थलमा बोलाएको थियो। सोही क्रममा सम्झना र सुशान्तको मृत्यु केही दिन पहिले नै भएको पाइएको छ।
अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार पहिलो तलामा सुशान्त र दोस्रोमा सम्झनाको शव भेटिएको थियो भने भित्तामा रगतको छिर्का देखिएको थियो र फरेन्सिक विज्ञसहितको टोलीले गरेको अनुसन्धानबाट ती दुवै जनाको टाउकोमा गहिरो चोट देखिएको थियो।
यसैगरी घरमा रहेको दाउ जस्तो धारिलो हतियार प्रयोग गरेर आमा–छोराको हत्या भएको हुनसक्ने देखिएको स्रोतले जनाएको छ।
दुवै जनाको शव सडिसकेको अवस्थामा भेटिएको थियो भने कम्तिमा दुई दिनअघि आमा–छोराको हत्या भएको हुनसक्ने देखिएको अनुसन्धान अधिकृतहरुको भनाइ रहेको छ। यद्यपि, यसबारे यकिन विवरण पोष्टमार्टम रिपोर्ट आएपछि मात्र प्राप्त हुनेछ।
अन्तिम तलामा ढोका छेउ मृत अवस्थामा भेटिएका सुदिपको शरीरमा भने कुनै बाहिरी चोटपटक नभएको स्रोतले बताएको छ। अनुसन्धान अधिकृतहरुका अनुसार उनले वान्ता गरेको संकेत देखिन्छ भने शव पनि जस्ताको तस्तै रहेको छ।
स्रोतका अनुसार भान्सामा भात, तरकारी लगायत केही खानेकुरा पनि छन् र जसमा विषको जस्तो गन्ध आएको छ।
प्रहरीले परीक्षणका लागि खानेकुरालाई पनि प्रयोगशालामा पठाउने तयारी गरेको छ । प्रहरीका अनुसार भ¥याङमा कुकुर पनि मृत भेटिएको छ । कुकुरको पनि विषकै कारण मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ।
प्रहरीका अनुसार एक वर्ष पहिले सुदिपले औषधि पसलमा काम गर्ने गरेका थिए । आफन्तहरु र छिमेकीहरुले दिएको बयान अनुसार पछिल्लो समय जागिर नखाएको भन्दै उनी र श्रीमतीबीच झगडा हुने गर्थियो भने छोरासँग पनि उनको झगडा पर्ने गरेको थियो।