नेपालमा नेटवर्किङ व्यवसाय नगर्न वाणिज्य विभागको अनुरोध
Friday, September 18th, 2020, 10:57 am
amit
काठमाण्डौ, २ असोज । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पिरामिडमा आधारित सञ्जालयुक्त (नेटवर्किङ) व्यवसाय नगर्न तथा नगराउन अनुरोध गर्दै सूचना जारी गरेको छ।
‘त्यस्ता गैरकानूनी व्यावसायिक काम कार्यबाही गरे गराएमा उल्लेखित कानूनले १० लाखसम्म वा ५ वर्ष कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था गरेको हुनाले त्यस्ता कार्य नगर्नु नगराउन हुन तथा ठगीबाट शतर्क रहन सबैमा जानकारी गराइन्छ,’ विभागको सूचनामा उल्लेख गरिएको छ।
‘केही नेपाली कम्पनी तथा व्यक्तिहरू तथा विदेशीहरू समेतले वस्तुको प्रत्यक्ष बिक्रीका नाममा गैर कानूनी रूपले नेटवर्किङ शैलीमा व्यवसाय गरी नेपाल तथा विदेशमा रहेका नेपालीहरू समेतलाई त्यसमा आवद्ध गरी ठगी गरेको तथा पूँजी पलायन गरेको गुनासो तथा उजुरीहरू यस विभागमा आएको हुनाले त्यसप्रति यस विभागको गम्भीर ध्यानाकर्षण भएको छ।’
यस्ता नेटवर्किङ व्यवसाय सम्बन्धी गुनासो र उजुरीका आधारमा केही व्यक्ति तथा कम्पनीहरू उपर अनुसन्धान, जाँचबुझ तथा छानबिन पनि भइरहेको विभागले बताएको छ।
वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) ऐन, २०७४ तथा नियमावली, २०७६ ले पिरामिडमा आधारित सञ्जालयुक्त (नेटवर्किङ) व्यवसाय गर्न नपाइने स्पष्ट व्यवस्था गरेको छ।