बागमती प्रदेशमा खाली ग्यास सिलिण्डरको मूल्य २१ सय रुपैयाँ
Friday, September 18th, 2020, 1:12 pm
amit
काठमाण्डौ, २ असोज । नेपाल एलपी ग्यास उद्योग संघले बागमती प्रदेशमा शुक्रबारदेखि लागू हुनेगरी एलपी ग्यासको खाली सिलिण्डरको धरौटी रकम २१ सय रुपैयाँ तोकेको छ।
संघका अध्यक्ष गोकुल भण्डारीका अनुसार बजारमा कम्पनीअनुसार सिलिण्डरको धरौटी रकममा मनपरी मूल्य लिइएपछि एक रुपता ल्याउन यस्तो निर्णय गरिएको हो।
बागमती प्रदेशमा शुक्रबारदेखि लागू भएको नयाँ व्यवस्थाअनुसार अब जुनसुकै कम्पनीको सिलिन्डरसहित किन्दा ३४ सय ७५ रुपैयाँ भन्दा बढी तिर्नुपर्ने छैन।
निगमले तोकेको ग्यासको प्रतिसिलिण्डर मूल्य १३ सय ७५ र सिलिण्डरको धरौटी २१ सय गरेर भरी सिलिण्डर ग्याससहित नयाँ सिलिण्डरको मूल्य निर्धारण गरिएको अध्यक्ष भण्डरीले बताएका छन्।
यस्तै अध्यक्ष भण्डारीले यसअघि नयाँ सिलिण्डरसहितको ग्यास खरिद गर्दा उपभोक्ताले ४ हजार ५ सय रुपैयाँसम्म तिरेको गुनासो आएको थियो भने अब उपभोक्ता ठगिने छैन।
भण्डारीको भनाइ अनुसार सिलिण्डरको फ्याक्ट्री लागत १९ सय ५० रुपैयाँ, ढुवानी ५० रुपैयाँ र कर एक सय गरेर २१ सय धरौटी तोकिएको हो भने उद्योगले कुनै विकल्प नदिई उद्योग बन्द गरेमा वा उपभोक्ता बसाइँ सरेर अन्यत्र गएको अवस्थामा भने डिलरबाट धरौटी फिर्ता पाइने छ।
तत्कालका लागि बागमती प्रदेशमा रहेका २९ वटा उद्योगका सिलिण्डरमा उक्त निर्णय कार्यान्वन्वयन हुने संघले जनाएको छ।