उर्जामन्त्री शर्मा सहभागी कार्यक्रममा ढुङ्गामुढा, मन्त्री सहितका नेतालाई प्रहरीले जोगायो
Friday, January 13th, 2017, 3:44 am
amit
सन्धीखर्क-अर्घाखाँचीको सन्धीखर्कमा आयोजित महोत्सवमा आक्रोशित जनमासलेले उर्जा मन्त्री तथा माओवादी केन्द्रका नेता जनार्दन शर्मालाई लक्षित गरी ढुंगा प्रहार गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि ऊर्जामन्त्री जनार्दन शर्मा लगायतका नेताहरुलाई प्रहरीले जोगाएर जिल्ला प्रहरी कार्यालय पुर्यााएको छ । कार्यक्रममा बोल्ने क्रममा माओवादी नेता डिलाराम आचार्यले ५ नम्बर प्रदेश विभाजन हुँदैमा केही पनि असर नपर्ने बताएपछि स्थानीयबासीले मञ्चमा ढुंगामुढा सुरु गरेका थिए । ढुंगामुढा हुन थालेपछि प्रहरीले लाठी चार्ज गरेको छ भने महोत्सव उदघाटन कार्यक्रम वीचैमा स्थगित भएको छ ।
अर्घाखाँचीमा बिहीबारदेखि अर्घाखाँची महोत्सव सुरु गरिएको थियो ।
तर, उदघाटन समारोह भइरहेको मञ्चमै ढुंगा बर्सिएपछि ऊर्जामन्त्री जनार्दन शर्मा सम्बोधन नै नगरी काठमाडौं फर्किएका छन् । नेकपा माओवादी केन्द्रका नेता डिलाराम आचार्यले ‘देश टुक्रिन भएन, ५ नम्बर प्रदेश टुक्रिँदैमा देश टुक्रिँदैन’ भनेपछि युवाहरुले ढुगांमुढा गरेका हुन् ।
महोत्सव उद्घाटन गर्न हेलिकप्टर चढेर सन्धीखर्क आएका ऊर्जामन्त्रीले महोत्सवमा मन्तव्य राख्न पाएनन् । उनी त्यसै फर्किए । स्थानीयको ढुंगामुढा र चर्का नारावाजीपछि कार्यक्रम वीचैमा स्थगित भएको छ ।
स्थानीयको नाराबाजी र ढुंगामुढा पछि ऊर्जामन्त्री शर्मालाई प्रहरीले स्कर्टिंग गरेर कार्यक्रम स्थलबाट बाहिर लगेको थियो ।
विहीबार बिहान प्रेस सेन्टरले गरेको पत्रकार सम्मेलनमा ऊर्जामन्त्री जनार्दन शर्माले ५ नम्बर प्रदेशका अर्घाखाँचीबासीहरु सुरुङमार्गबाट प्रदेशको राजधानी पोखरा जाने अभिव्यक्ति दिएका थिए । माओवादी नेता डिलाराम आचार्यले आफुले बोलेका शब्दहरु फिर्ता लिएको र आफू पनि अर्घाखाँचीबासी भएको भन्दै जिल्लाबासीहरुसँग माफी मागेपछि भीड नियन्त्रणमा आएको छ ।
तर, ढुंगा बर्सिएपछि दुईजना सर्बसाधारण घाइते भएका छन् । प्रेम खड्का र मानबहादुर भुसाल घाइते भएका हुन् ।