युट्युब र सामाजिक सञ्जालबाट कमाएको विदेशी रकम बैंकमार्फत नेपाल ल्याउन पाइने
Friday, September 18th, 2020, 5:29 pm
amit
काठमाण्डौ, २ असोज । नेपाल राष्ट्र बैंकले युट्युबलगायत सामाजिक सञ्जालमार्फत विदेशबाट नेपाल आउने रकम बैङ्किङ प्रणालीमार्फत भित्र्याउने बाटो खुला गरेको छ।
नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले त्यस्तो रकमलाई स्वदेशी बंैक खातामै जम्मा गर्न सकिने र तोकिएको सीमा अनुसार स्वदेशी मुद्रामा रकमान्तर समेत गर्न सकिने व्यवस्था गरेको हो।
यसअघि यस्तो भुक्तानी वेष्टर्न युनियन मनि ट्रान्सफर लगायत रेमिट्यान्स कम्पनीमार्फत हुँदै आएको थियो।
तर नेपाल राष्ट्र बैंकले बिहीबार एक सूचनामार्फत सूचना प्रविधि सम्बद्ध दक्षतारविज्ञताको निकासी, सामाजिक सञ्जालमा सामग्रीहरु राखिएबापत प्राप्त हुने रकम तथा खुद्रास्तरको अन्तर्राष्ट्रिय व्यावसायिक÷व्यापारिक कारोबारबापत प्राप्त हुने रकम बैंक तथा वित्तीय संस्थामार्फत प्राप्त गर्न सकिने जनाएको छ।
यसको लागि स्वदेशी बैंकको खातामा विदेशी मुद्रा आएपछि बैंक तथा वित्तीय संस्थाले सञ्चालन गरेको ग्राहकको वालेटलगायत भुक्तानीका उपकरणमा तोकिएको सीमासम्मको रकम स्वदेशी मुद्रामा रकमान्तर गर्न सकिनेछ।
विदेशी मुद्रा आर्जन गर्ने क्रममा तोकिए बमोजिमको शुल्क, रोयल्टीलगायत आवश्यक पर्ने भएमा र भुक्तानी विदेशमा पठाउनुपर्ने भएमा राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागबाट जारी भएको निर्देशनको पालना गर्नुपर्नेछ।
त्यसरी कारोबार गर्ने बैङ्क तथा वित्तीय संस्थाले यस्तो कारोबारको मासिक विवरण प्रत्येक महिना सकिएको १५ दिनभित्र विभागमा पेश गर्नुपर्ने विभागले उल्लेख गरेको छ।