सडक डिभिजन कार्यालय हेटौँडाद्वारा २१ ठेक्का रद्द, १८ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारी
Wednesday, September 23rd, 2020, 2:41 pm
amit
हेटौँडा, ७ असोज । सडक डिभिजन कार्यालय हेटौँडाले सम्झौताअनुसार तोकिएको र थपिएको समयमा समेत काम सम्पन्न नगरेको भन्दै विभिन्न निर्माण कम्पनीसँग भएका २१ ठेक्का सम्झौतो अन्त्य गरेर त्यस्ता कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया थालेको छ।
सडक डिभिजन कार्यालयलका अनुसार सम्झौताअनुसारको म्याद समाप्त भएर पटक–पटक म्याद थप गरेर पनि लामो अवधिसम्म कार्य सम्पन्न नगर्ने निर्माण कम्पनीसँगको ठेक्का सम्झौता तोड्ने निर्णय गर्दै आज सूचना समेत जारी गरिएकोे हो।
उक्त सूचनामा सडक डिभिजन कार्यालयले सर्तनामा बमोजिम काम गर्न ठेक्का सम्झौता गरेका १७ निर्माण कम्पनीसँगको ठेक्का अन्त्य गरेको उल्लेख गरिएको छ।
आर्थिक वर्ष २०६५÷६६ देखि २०७०÷७१ सम्मका ठेक्का सम्झौता गरेर काम नगर्ने कम्पनीसँगको ठेक्का तोड्दै सडक डिभिजन कार्यालयले सार्वजनिक खरिद ऐन २०६३ बमोजिम बैंक जमानत जफत गरी बाँकी कामको रकम सरकारी बाँकी सरह असुलउपर गर्ने र निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढाउने निर्णय गरेको जनाइएको छ।
सडक डिभिजनले दिएको जानकारी अनुसार मकवानपुर, बारा र पर्साका विभिन्न योजनाको ठेक्का तोडिएको छ भने मकवानपुरका सात, पर्साका छ, बाराका तीन र काठमाडौँको एक निर्माण कम्पनीसँगको सम्झौता रद्द गरेको सूचना प्रकाशन गरिएको छ।