मलेसियामा नेपालीको अपहरण गरी नेपालमा फिरौती असुल गर्ने दूर्गा बहादुर श्रेष्ठ काठमाडौंबाट पक्राउ
Wednesday, September 30th, 2020, 1:35 pm
amit
काठमाण्डौ, १४ असोज । वैदेशिक रोजगारीका लागि मलेसिया गएका नेपालीको अपहरण गरी नेपालस्थित परिवारका सदस्यबाट फिरौती असुल गर्ने १ जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले तेह्रथुमको सोल्मामा जन्म घर भइ मोरङको सुन्दरपुरमा स्थायी घर भएका ४४ वर्षीय डेभिड भनिने दूर्गा बहादुर श्रेष्ठलाई काठमाडौंको महाराजगञ्जस्थित कान्ति बाल अस्पताल अगाडिबाट पक्राउ गरेको हो।
मलेसियास्थित टप ग्लोब नामक कम्पनीमा क्यान्टिन (चमेना गृह) सञ्चालन गर्दै आएका दूर्गा बहादुरले वैदेशिक रोजगारीका लागि मलेसिया गएका नेपालीलाई डराई धम्क्याइ रकम असुल गर्ने गरेका थिए।
पछिल्लो समय उनले दाङको फहरुवा घर भइ वैदेशिक रोजगारीका लागि मलेसिया गएका मध्म रैदासको अपहरण गरी फिरौती असुलेका थिए।
श्रेष्ठले भुटान माइती भएकी आफ्नी श्रीमती धनमाया श्रेष्ठ तथा ठेगाना यकीन नभएका आफ्ना चालक श्याम नेपाली समेतको सहयोगमा मध्मको मलेसियामा अपहरण गरेको सीआईबीले बताएको छ।
मध्मको अपहरण गरी बन्धक बनाएको अवस्थामा मलेसियाबाट दूर्गाकी श्रीमती धनमाया र चालक श्यामले फोनमार्फत दाङमा रहेकी मध्मकी श्रीमतीसँग ६० हजार रिङगेट (करिब १६ लाख नेपाली) रुपैयाँ फिरौती मागेका थिए।
उनीहरुले उक्त रकम दूर्गा बहादुर श्रेष्ठको नाममा हिमालय बैंक लिमिटेडको खातामा जम्मा गर्न भनेका थिए । जसअनुसार मध्मकी श्रीमतीले आफूसँग भएको र ऋण लिएको गरी १५ लाख ९ हजार २ सय रुपैयाँ दूर्गा बहादुर श्रेष्ठको नाममा रहेको खातामा जम्मा पनि गरेकी थिइन्।
तर, अपहरणकारीले मध्मलाई मुक्त गरेनन् । फिरौती बुझाउँदा समेत आफ्ना पति अपहरणमुक्त नभएपछि मध्मकी श्रीमतीले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा उजुरी दिएकी थिइन्।
मध्मकी श्रीमतीको उजुरीपछि सीआईबीले दूर्गाबहादुरबारे अनुसन्धान शुरु गरेको थियो । पछिल्लो समय उनी नेपाल आएको सूचना पाएपछि सीआईबीको टोलीले निगारानी बढाएको थियो।
सोमबार श्रेष्ठ बा १४ च २११२ नम्बरको गाडी चढेर बाँसबारीबाट रानीपोखरीतर्फ गइरहेका थिए । सोही समयमा सीआईबीको टोलीले उनलाई कान्ति बाल अस्पताल अगाडिको सडकबाट पक्राउ गरेको हो।
पक्राउ परेका श्रेष्ठमाथि थप अनुसन्धान भइरहेको र उनले मलेसियामा रहेका नेपालीबाट धेरै पहिलेदेखि नै डराई धम्काइ रकम असुली गर्ने गरेको पाइएका कारण सो सम्बन्धमा पनि अनुसन्धान शुरु गरिएको एसपी पाण्डेले जानकारी दिएका छन्।