दाङको भालुवाङलाई राजधानी बनाउने निर्णयविरूद्ध बुटवलमा विरोध प्रदर्शन, सरकारी गाडी तोडफोड
Friday, October 2nd, 2020, 5:02 pm
amit
बुटवल, १६ असोज । प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ बनाउने प्रस्ताव पेश गरिएसँगै बुटवलमा विरोध प्रदर्शन सुरू भएको छ।
प्रदेश सभाको शुक्रबारको बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेश सरकारको शुक्रबारको निर्णयअनुसार प्रदेशको नामाकरण र स्थायी राजधानीको प्रस्ताव पेश गरेलगत्तै नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले विरोध प्रदर्शन गरेको हो।
नेविसंघले प्रदेश सभा अगाडि टायर बालेर विरोध जनाएको छ भने अहिले पनि नेविसंघका कार्यकर्ताले बुटवलमा प्रदर्शन गरिरहेका छन्।
त्यस्तै बुटवल ट्राफिक चोकमा कृषि मन्त्रालय योजना महाशाखाको लु १ झ ४२१ नम्बरको गाडी तोडफोड भएको छ। त्यस्तै प्रदेश सभाका विभिन्न समितिका सभापतिहरूले प्रयोग गर्ने लु १ झ ४२९, लु १ झ ४४९ र लु १ झ ४४५ नम्बरका गाडीमा पनि तोडफोड गरिएको छ।
स्थानीयका अनुसार आन्दोलनरत समूहले गाडी तोडफोड गरेका हुन् । गाडी तोडफोड भएलगत्तै प्रहरी पुगेको कारण गाडीमा धेरै ठूलो क्षति हुन नपाएको बताइएको छ।
प्रदर्शन हुन थालेपछि बुटवलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। प्रदेश सरकारले राजधानीको विषय निर्णय गरेसँगै बिहानैदेखि बुटवलको सुरक्षा व्यवस्था कडा पारिएको हो। आज बिहानै नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रदेश प्रमुख तथा प्रमुख जिल्ला अधिकारीको बैठक बसेको थियो।
स्रोतका अनुसार राजधानीको विषय टुंगो लागेपछि हुन सक्ने आन्दोलन र असन्तुष्टिलाई नियन्त्रण गर्न बाहिरी जिल्लाबाट समेत प्रहरी झिकाइएको हो भने आन्दोलन हुनसक्ने अवस्था देखिए कफ्र्यू लगाएर भए पनि प्रदेश राजधानी घोषणा गर्ने तयारीमा सरकार रहेको छ।