लोकमान किन गए भारत ?
Monday, January 16th, 2017, 4:56 am
amit
काठमाडौं-सर्वोच्च अदालतबाट अख्तियारको प्रमुख आयुक्तमा अयोग्य ठहरिएका लोकमानसिंह कार्की आइतबार भारत गएका छन् ।
स्वास्थ्य उपचारका लागि भन्दै उनी नेपाल एयरलाइन्सबाट पत्नी सुनिताका साथमा दिल्ली लागेको र त्यसपछि क्यानडा जाने योजना बनाएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ । ‘सर्वोच्चको आदेशसँगै उनी केही समय मुलुकमा नबस्ने निष्कर्षमा पुगेका हुन्,’ स्रोतले भन्यो ।
शुक्रबार नै कार्कीका जेठी छोरी आध्याश्री, ज्वाइँ शुभासिस थपलिया र छोरा अभ्युदयमानसिंह क्यानडा लागेका छन् ।
कार्कीको परिवार क्यानडा नै लाग्ने पारिवारिक स्रोतले बतायो । आफ्नो योग्यताबारे फैसलामाथि निस्सा हुने भनी सर्वोच्चले आदेश दिएलगत्तै पनि लोकमानसिंह कार्की क्यानडा, दुबईलगायतका ठाउँमा केही समय बिताएर फर्किएका थिए । उनकी दिदीको परिवार क्यानडामा बसोबास गर्छ ।
अख्तियार प्रशासनले आइतबार नै कार्कीको सुरक्षामा खटिएका ३२ जना प्रहरीलाई फिर्ता गरेको छ ।
सईको कमान्डमा पछुवा टोलीका सुरक्षाकर्मी, कार्कीका पीएसओ, घरमा खटिएका सहायक सुरक्षाकर्मी सबै फिर्ता भएको अख्तियार स्रोतले बतायो ।
तर, कार्कीका साथमा प्रहरी हवल्दार राजेन्द्र चौधरी भने दिल्ली गएका छन् । कार्कीले विज्ञ नियुक्त गरेका पूर्वडीएसपी गोवद्र्धन श्रेष्ठ पनि उनीसँगै दिल्ली गएका छन् ।